धनश्रीसँगको डिभोर्सबारे बोले चहल : आत्महत्याको सोच आयो, एक महिना सुत्न सकिनँ

धनश्रीसँगको डिभोर्सबारे बोले चहल : आत्महत्याको सोच आयो, एक महिना सुत्न सकिनँ

एजेन्सी : भारतीय क्रिकेटर युजवेन्द्र चहलले हालै एक पोडकास्टमा आफ्नी पूर्वपत्नी, कोरियोग्राफर तथा इन्फ्लुएन्सर धनश्री वर्मासँगको डिभोर्सपछिको कठिन समय र मानसिक तनावबारे खुलेर कुराकानी गरेका छन्।

कुराकानीमा उनले सम्बन्धविच्छेदको प्रक्रिया चल्दा आफू गहिरो मानसिक पीडाबाट गुज्रिएको र मनमा आत्महत्याको सोचसमेत आएको बताएका छन्।

चहलले भने, ‘डिभोर्सको प्रक्रिया चल्दा म एक महिनासम्म मुस्किलले दुई घण्टा मात्र सुत्न सकेँ। मेरो मनमा आत्महत्याको सोच आइरहेको थियो। मैले यो कुरा आफ्ना साथीहरूलाई पनि सुनाएँ। मलाई क्रिकेटबाट ब्रेक चाहिएको थियो किनभने मैदानमा पनि मेरो दिमागले काम गरिरहेको थिएन।’

चहल र धनश्रीको सम्बन्धविच्छेदलाई मुम्बईको पारिवारिक अदालतले २० मार्च २०२५ मा कानुनी मान्यता दिएको थियो। यो जोडीले ११ डिसेम्बर २०२० मा विवाह गरेको थियो।

सामाजिक सञ्जालमा खुसी देखिनुको नाटक
चहलका अनुसार उनीहरूको सम्बन्धविच्छेद अचानक भएको होइन, यो एक लामो र निजी प्रक्रिया थियो। उनले सामाजिक सञ्जालमा आफ्ना समस्याहरू लुकाएर एक सामान्य र खुसी जोडीजस्तो देखिने प्रयास गरेको स्वीकार गरे।

‘हामीले अन्तिम निर्णय नभएसम्म यसबारे केही नबोल्ने निर्णय गरेका थियौं। सामाजिक सञ्जालमा हामी सामान्य जोडीजस्तै देखिन्थ्यौं, तर भित्रभित्रै म केवल नाटक गरिरहेको थिएँ’, चहलले भने।

सम्बन्ध टुट्नुको कारणबारे बोल्दै चहलले दुवै जनाको महत्त्वाकांक्षी जीवनशैलीबीच तालमेल नमिलेको बताए।

‘सम्बन्धमा सम्झौता आवश्यक हुन्छ। यदि एकजना रिसाएको छ भने, अर्कोले सुन्नुपर्छ। दुई महत्त्वाकांक्षी मानिस सँगै बस्न सक्छन्, तर सबैका आ-आफ्नै लक्ष्य र जीवन हुन्छन्’, उनले थपे।

डिभोर्सको हल्ला चल्दा चहलमाथि धोका दिएको आरोपसमेत लागेको थियो।

यसप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘मानिसहरूले मलाई धोकेबाज भने, तर मैले कहिल्यै धोका दिएको छैन। म निकै वफादार व्यक्ति हुँ। कसैसँग देखिँदैमा मानिसहरू हल्ला फैलाउँछन्। मेरा दुई दिदीबहिनी छन्, मलाई महिलाको सम्मान गर्न आउँछ।’

यसैबीच, उनले अदालत जाँदा लगाएको ‘Be Your Own Sugar Daddy’ लेखिएको टिसर्टबारे पनि खुलासा गरे। उनका अनुसार अर्को पक्षबाट केही भएकाले अदालतमा एक विशेष सन्देश दिनका लागि त्यो टिसर्ट लगाएइएको हो।

कपिल शर्मा शोमा नयाँ सम्बन्धको स्वीकारोक्ति
चहलले ‘द ग्रेट इन्डियन कपिल शो’ मा आरजे महवशसँग आफ्नो नयाँ सम्बन्ध रहेको स्वीकार गरेका छन्।

शोमा कमेडियन कृष्ण अभिषेक र किकु शारदाले उनको जिस्काएका थिए। किकुले चहलको सर्टमा लागेको लिपस्टिकको दाग देखाउँदै सोधे, ‘यो के चलिरहेको छ?’

चहलले हाँस्दै जवाफ दिए, ‘अब त पूरा भारतले थाहा पाइसक्यो।’ यही क्रममा ऋषभ पन्तले ठट्टा गर्दै भनेका थिए, ‘अहिले फ्री छ नि, अलिअलि त यस्तो चल्छ।’

धनश्रीले ‘झलक दिखला जा-११’ मा बताएअनुसार सन् २०२० को लकडाउनमा चहलले उनीसँग नृत्य सिक्न सम्पर्क गरेका थिए। त्यहीँबाट उनीहरूको प्रेम कहानी सुरू भयो र ११ डिसेम्बर २०२० मा विवाह भयो।

तर, सन् २०२२ को जुन महिनादेखि उनीहरूको सम्बन्धमा दरार आउन थाल्यो। दुवैले एकअर्कालाई सामाजिक सञ्जालमा अनफलो गरे र चहलले धनश्रीसँगका तस्बिरहरू हटाएका थिए।

फेब्रुअरी २०२५ मा उनीहरूले मुम्बईको पारिवारिक अदालतमा डिभोर्सका लागि निवेदन दिए। अदालतले छ महिनाको ‘कुलिङ-अफ’ अवधि दिए पनि चहलले यसको विरुद्ध बम्बे हाईकोर्टमा अपील गरे।

हाईकोर्टको आदेशपछि पारिवारिक अदालतले २० मार्च २०२५ मा उनीहरूको सम्बन्धविच्छेदलाई सदर गरेको थियो।

साउन १६, २०८२ शुक्रबार १०:५८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।