मलेसियाको मोह त्यागेर मौरीपालनमा रमाएका लोकबहादुर, मह बेचेरै वार्षिक ३० लाखको कारोबार

मलेसियाको मोह त्यागेर मौरीपालनमा रमाएका लोकबहादुर, मह बेचेरै वार्षिक ३० लाखको कारोबार

बागलुङ  : जब अधिकांश युवाहरू उज्ज्वल भविष्यको सपना बोकेर विदेशिन्छन्, त्यही बेला बागलुङको बडिगाड गाउँपालिका-७, गाँवका लोकबहादुर केसीले वैदेशिक रोजगारीको मोह त्यागेर स्वदेशमै सफलताको मीठो स्वाद चाखिरहेका छन्।

मलेसियाको तातो घाममा पसिना बगाएर फर्केका केसीले आजकल आफ्नै गाउँको चिसो हावापानीमा मौरीको मह बेचेर वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

पाँच वर्षअघि बडिगाड गाउँपालिकाले अनुदानमा दिएको दुई घार मौरीबाट उनले आफ्नो उद्यम यात्रा सुरू गरेका थिए।

सानो सुरूवातबाट आज उनको फार्ममा ७० घार मौरी छन्, जसले उनलाई आर्थिक रूपमा सम्पन्न मात्र बनाएको छैन, गाउँकै एक सफल उद्यमीको पहिचान पनि दिएको छ।

‘विदेशको कमाइभन्दा परिवारसँग बसेर आफ्नै गाउँमा केही गर्नुको आनन्द बेग्लै हुँदो रहेछ,’ केसी भन्छन्, ‘दुई घारबाट सुरू गरेको मौरीपालन आज ७० घारसम्म विस्तार भएको छ। पैसा कमाउनकै लागि विदेश जानुपर्छ भन्ने छैन, आफ्नै माटोमा पनि सुन फलाउन सकिन्छ।’

सुरूमा कुनै तालिम र अनुभव बिना नै यो क्षेत्रमा होमिएका केसीले गरेरै सिक्दै गए। आज उनी ‘भिमगिठे मौरी पालन’ नामक फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका छन्।

‘पहिले त केही थाहा थिएन, तर गर्दै जाँदा मौरीपालनका अनेकौँ पक्षबारे ज्ञान भयो’, उनी भन्छन्।

उनको सफलताको पछाडि अथक मेहेनत लुकेको छ। मौरीलाई अरिङ्गालबाट बचाउन उनी हरेक बिहान ५ बजेदेखि ८ बजेसम्म घारको सुरक्षामा खटिन्छन्।

‘बिहानको समयमा मौरी चरनबाट फर्कँदा अरिङ्गालले आक्रमण गरेर मारिदिन्छ,’ उनले आफ्नो दैनिकीबारे भने, ‘त्यसैले यो समयमा उनीहरूको सुरक्षा गर्नु पहिलो प्राथमिकता हो।’

यसका अलावा केही मौरीहरूले गृहत्याग गर्ने गर्छन्। त्यसलाई रोक्नका लागि दैनिक १५ घण्टा खटिनैपर्ने उनको भनाइ छ।

‘कहिलेकाहिँ मौरीले गृूहत्याग गर्छ। ४० प्रतिशत मौरी एकैपटक बाहिर निस्किएको अवस्थामा हामीले त्यसलाई छोपेरै यतै राख्ने प्रयास गर्छौँ,’ उनी थप्छन्, ‘अधिकांश समयमा हामीले मौरीलाई घारमै राख्न सफल पनि भएका छौँ।’

केही समयअघि आएको हावाहुरीले उनको १० वटा मौरीका घारमा क्षति पुर्याउँदा उनलाई ठूलो झट्का लाग्यो। तर, स्थानीय सरकारको साथले उनलाई पुनः उठ्न मद्दत गर्यो।

‘गाउँपालिकाले क्षतिपूर्ति स्वरूप १० वटै घार उपलब्ध गराइदिएको छ,’ उनले भने, ‘अब ती नयाँ घारमा मौरी सार्ने तयारी गर्दैछु।’

बजारदेखि सम्मानसम्म
अहिले बजारमा उनको मह प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री भइरहेको छ।

गत वर्ष उनले २ हजार किलो मह बिक्री गरेका थिए, जसबाट उनको कुल आम्दानी ३० लाख पुग्यो। यो वर्ष उत्पादन बढाएर आम्दानी अझै वृद्धि गर्ने उनको लक्ष्य छ।

‘कात्तिक-मंसिर मह काढ्ने मुख्य सिजन हो,’ उनी भन्छन्, ‘यसपटक गत वर्षको तुलनामा उत्पादन बढ्नेमा विश्वस्त छु।’

केसीले मह मात्र नभई मौरीको गोला, खाली घार र मैनसमेत बिक्री गरेर अतिरिक्त आम्दानी गर्दै आएका छन्।

उनको यो उद्यमशीलताले आर्थिक सफलता मात्र होइन, स्थानीय स्तरमा सम्मान पनि दिलाएको छ।

हालै बडिगाड गाउँपालिकाले सञ्चालन गरेको ‘मेरो उद्यम, मेरो पालिका’ अभियान अन्तर्गतको डिजिटल मतदान कार्यक्रममा उनको ‘भिमगिठे माहुरी पालन’ ले तृतीय स्थान हासिल गरेको छ।

यो सफलतापछि उनले सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ मेहनत, निष्ठा र समर्पणका साथ आफ्नो उद्यमलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीमा जाने सोच बनाएका युवाहरूलाई उनी गाउँमै स्वरोजगार बन्न सुझाव दिन्छन्।

‘समय लाग्ला तर असफल पक्कै भइन्न। दृढ इच्छाशक्ति, बलियो अठोट अनि केही लगानी चाहिन्छ’, उनी थप्छन्।

मौरीपालन मात्र नभएर उनले त्यस वरपरका जग्गामा विभिन्न फलफूलका विरुवा समेत रोपेका छन्। अङ्गुर त अहिले पनि फलाएर बेचिरहेका छन्। यसका अलावा लिची, सुन्तलाका बोट पनि उनले लगाएका छन्।

साउन १६, २०८२ शुक्रबार १०:२९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।