भारतविरुद्धको पाँचौं टेस्टको पहिलो दिन इंग्ल्यान्ड हावी, छ विकेट गुमाएर बनायो २०४ रन

एजेन्सी : भारत र इंग्ल्यान्डबीच जारी एन्डरसन-तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टको पहिलो दिन घरेलु टोली इंग्ल्यान्ड हावी भएको छ।
लन्डनको द ओभल स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डले बलरलाई सहयोगी पिचको फाइदा उठाउँदै भारतलाई पहिलो दिनको खेल सकिँदा २०४ रनमा ६ विकेट लिएर दबाबमा राखेको छ।
भारतका लागि करुण नायरले अविजित ५२ रन बनाउँदै पारी सम्हालेका छन्। दिनको खेल सकिँदा उनीसँगै वाशिङ्टन सुन्दर १९ रनमा अविजित छन्। इंग्ल्यान्डका लागि गस एटकिन्सन र जोश टंगले २-२ विकेट लिए।
दोस्रो दिनको खेल आज नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ।
सिरिजमा पहिलो पटक बलरलाई पूर्ण सहयोग गर्ने खालको हरियो पिचमा भारतले ब्याटिङ सुरू गरेको थियो। स्वीङिङ कन्डिसनका बाबजुद भारतले पहिलो सत्रमा ७२ रन बनाउँदा २ विकेट मात्र गुमाएको थियो। ओपनर यशस्वी जायसवाल २ रनमै आउट भए भने केएल राहुलले ४० बल खेलेर १४ रन बनाए।
वर्षाका कारण दोस्रो सत्रको खेल ढिला सुरू भएको थियो। कप्तान शुभमन गिल र साई सुदर्शनले भारतीय पारी सम्हाल्ने प्रयास गरिरहेका बेला गिल २१ रनमा दुर्भाग्यपूर्ण रूपमा रन आउट हुन पुगे। उनको विकेटको केही समयपछि पुनः वर्षाले खेल करिब ७५ मिनेट रोकिएको थियो।
तेस्रो सत्रमा मौसम सफा भए पनि पिचमा तीव्र गतिका बलरले निरन्तर मद्दत पाइरहे। यही फाइदा उठाउँदै जोश टंगले उत्कृष्ट लयमा देखिएका साई सुदर्शन (३८) र रवीन्द्र जडेजा (९) लाई विकेटकिपरको हातबाट क्याच आउट गराए।
ऋषभ पन्तको ठाउँमा टोलीमा आएका ध्रुव जुरेलले केही समय क्रिजमा बिताउने प्रयास गरे पनि १९ रन बनाएर पेभेलियन फर्किए।
एकपछि अर्को विकेट गुम्दा संकटमा परेको भारतीय पारीलाई पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका करुण नायरले सम्हाले। उनले धैर्यतापूर्वक ब्याटिङ गर्दै आफ्नो अर्धशतक पूरा गरे।
दिनको खेल सकिँदा उनी ५२ तथा वाशिङ्टन सुन्दर १९ रनमा अविजित छन्। भारतले दोस्रो दिन सम्मानजनक स्कोर बनाउन यही जोडीमाथि निर्भर रहनेछ।
साउन १६, २०८२ शुक्रबार १०:०३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।