माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारबाट शुरू हुँदै

माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारबाट शुरू हुँदै

काठमाडौं : माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारबाट शुरू हुँदैछ। बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए।

चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिनेबारे छलफल, एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयका साथै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डा तय गरिएको छ।

यस्तै पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेको अवस्थामा यसबारे समेत बैठकमा छलफल हुनेछ।

साउन १४ गते बसेको पदाधिकारी बैठकमा शर्मा लगायत पार्टीको नेतृत्वमाथि प्रश्न उठाउनेहरूमाथि कारबाही गर्नुपर्ने विषय समेत उठेको थियो। शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन्।

केही दिनअघि मात्र शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सार्वजनिक आरोप प्रत्यारोप नै चलेको थियो। तर, प्रचण्डले भने पार्टीका सबै असन्तुष्टि हल भइसकेको दाबी गर्दै आएका छन्।

साउन १६, २०८२ शुक्रबार ०८:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।