बेलायती संसदीय समितिको १२ ‘दमनकारी राष्ट्र’को सूचीमा भारत र पाकिस्तान पनि

बेलायती संसदीय समितिको १२ ‘दमनकारी राष्ट्र’को सूचीमा भारत र पाकिस्तान पनि

लन्डन : बेलायतको एक प्रतिष्ठित संसदीय समितिले आफ्नो देशमा अन्य देशका नागरिकहरूमाथि दमन गर्ने देशहरूको सूची सार्वजनिक गरेको छ, जसमा भारतको नाम पनि समावेश गरिएको छ।

‘बेलायतमा अन्तर्राष्ट्रिय दमन’ शीर्षकको यस प्रतिवेदनमा पाकिस्तान, चीन, रुस र टर्की जस्ता देशहरूसँगै भारतसहित कुल १२ देशलाई सामेल गरिएको हो।

संयुक्त मानव अधिकार समितिद्वारा बिहीबार जारी गरिएको प्रतिवेदनमा केही विदेशी सरकारहरूले बेलायतमा बसोबास गर्ने आफ्ना आलोचक वा असहमत व्यक्तिहरूलाई धम्क्याउने, तर्साउने र उनीहरूको आवाज दबाउने प्रयास गरिरहेको दाबी गरिएको छ।

समितिले यस्ता गतिविधिहरूलाई मानव अधिकारमाथिको गम्भीर खतरा भन्दै बेलायती सरकारलाई तत्काल कडा कदम चाल्न आग्रह गरेको छ। यस प्रतिवेदनबारे भारत सरकारले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिवेदनमा खालिस्तानी संगठनको प्रसङ्ग
भारतको सन्दर्भमा, प्रतिवेदनले आतंकवादी संगठन ‘सिख्स फर जस्टिस’ को उल्लेख गरेको छ। यो एक खालिस्तान समर्थक संगठन हो, जसलाई भारतले गैरकानूनी गतिविधि (रोकथाम) ऐनअन्तर्गत ‘गैरकानूनी संगठन’ घोषित गरिसकेको छ।

प्रतिवेदनले बेलायतमा रहेका केही व्यक्तिहरूलाई लक्षित गर्ने घटनामा भारतीय पक्षको संलग्नताको आशंकातर्फ संकेत गरेको छ।

समितिले बेलायती भूमिमा विदेशी सरकारहरूले मानिसहरूलाई लक्षित गर्दा उनीहरूमा डर बढेको र अभिव्यक्ति तथा स्वतन्त्र आवतजावतको अधिकार कुण्ठित भएको बताएको छ।

प्रतिवेदनका अनुसार, बेलायतको सुरक्षा एजेन्सी एम१५ को अनुसन्धानले सन् २०२२ पछि यस्ता दमनकारी घटनाहरूमा ४८ प्रतिशतले वृद्धि भएको देखाएको छ। केही देशहरूले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नियमहरूको दुरुपयोग गरी आफ्ना आलोचकहरूलाई निशाना बनाइरहेको पनि प्रतिवेदनमा उल्लेख छ।

यो प्रतिवेदनले बेलायत र भारतबीचको कूटनीतिक सम्बन्धमा नयाँ तनाव उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ, विशेष गरी जब दुवै देश स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता गरिरहेका छन्।

साउन १६, २०८२ शुक्रबार ०८:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।