ट्रम्पद्वारा क्यानडामाथिको भन्सार १० प्रतिशतले वृद्धि, अन्य देशहरूमाथि पनि नयाँ दरहरू लागू

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै क्यानडाबाट आयात हुने सामानमा लाग्दै आएको भन्सार करलाई २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका छन्।
व्यापार सम्झौताको लागि तोकिएको समयसीमा समाप्त हुनुभन्दा केही घण्टाअघि ह्वाइट हाउसले दर्जनौं अन्य देशहरूका लागि पनि नयाँ भन्सार दरहरू सार्वजनिक गरेको छ। यी नयाँ दरहरू आगामी सात दिनभित्रै कार्यान्वयनमा आउने बताइएको छ।
यो कदम ट्रम्प प्रशासनले लिएका श्रृंखलाबद्ध व्यापारिक निर्णयहरूको पछिल्लो कडी हो। यसअघि बिहीबार मात्र राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने निर्णयको समयसीमा ९० दिनका लागि थपेका थिए।
त्यसैगरी, बुधबार उनले अगस्ट १ देखि भारतबाट अमेरिका आयात हुने सबै सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। उनले रुसबाट हतियार र तेल खरिद गरेमा भारतमाथि थप आयात शुल्क लगाउन सकिने संकेत पनि दिएका छन्।
ट्रम्प प्रशासनको यो निर्णय अप्रिल २ मा गरिएको एक पुरानो घोषणाको निरन्तरता हो, जसमा राष्ट्रपति ट्रम्पले भारतसहित विश्वका १०० देशहरूमाथि भन्सार लगाउने बताएका थिए।
राष्ट्रपति ट्रम्पले आफ्नो नीतिको बचाउ गर्दै यदि कुनै देशले अमेरिकी सामानमा उच्च आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि बदलामा सोही देशबाट आउने सामानमा उस्तै दरमा शुल्क लगाउने बताउँदै आएका छन्। उनले यसलाई ‘पारस्परिक शुल्क’ भन्दै आएका छन्।
साउन १६, २०८२ शुक्रबार ०७:२७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।