एनपीएल पहिलो सिजनको हिसाब गोलमाल देखेपछि संयोजक पारसको आर्थिक प्रस्ताव बोर्डले पास गरेन

काठमाडौं : नेपाल प्रिमियर लिग परिचालन परिषद्ले पेस गरेको एनपीएल पहिलो सिजनको आम्दानी र खर्च विवरणमा विवाद हुँदा पारित हुन सकेन। एनपीएलको हिसाब पारित गर्ने अजेण्डासहित बिहीबार नेपाल क्रिकेट संघको बोर्ड बैठक बसेको थियो।
बोर्ड बैठकमा एनपीएल परिचालन परिषद्को प्रमुखको रूपमा सचिव पारस खड्काले एनपीएलको पहिलो सिजनको आम्दानी र खर्च पेस गरेका थिए। तर, बोर्डका अन्य पदाधिकारीहरूले खर्च विवरण एकमुष्ट रहेको र विवरण पारदर्शी नभएको भन्दै कुन-कुन क्षेत्रबाट कति आम्दानी भएको हो र कुन-कुन विषयमा कति खर्च भएको हो विस्तृत विवरण माग गरेपछि बोर्डले एनपीएलको आम्दानी र खर्च विवरण अनुमोदन गरेन।
क्यानका प्रवक्ता छुम्बी लामाले सार्वजनिक गरेको आम्दानी र खर्च विवरणसहितको प्रेस विज्ञप्तिमा अर्को बोर्ड बैठकबाट एनपीएलको आम्दानी र खर्च विवरण अनुमोदनका लागि पेस हुने उल्लेख गरिएको छ।
क्यानका पदाधिकारी मात्रै हैन एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टिमका सञ्चालकहरूले पनि क्यानको एनपीएल परिचालन परिषद्ले सार्वजनिक गरेको आम्दानी र खर्चको पारदर्शीमा प्रश्न उठाएका छन्।
प्रारम्भमा परिषद्का सचिव खड्काले प्रत्येक टिमले करिब ८० लाख पाउने दाबी गरेका थिए। पछि सो रकम घटाउँदै उनले फ्रेन्चाइज टिमका प्रतिनिधीहरुसँगको बैठकमा करिब ६२ लाख पाउने बताएका थिए।
तर, बिहीबार सार्वजनिक विवरण अनुसार आठ टिमले करिब ५४ लाखको दरले रकम पाउने देखिन्छ। पहिलो सिजनमा सहभागी आठ टिमहरूले न्युनतम् पनि आठ करोडसम्म खर्च भएको दाबी गरेका थिए।
पारदर्शी छैन आम्दानी र खर्च
बिहीबार बेलुका विज्ञप्तिबाट सार्वजनिक भएको विवरणमा कुल आम्दानी, कुल खर्च, टिमलाई दिने रकम, क्यानको प्रदेशलाई दिने रकम र क्यानको बचत भनेर एकमुष्ट रकम उल्लेख गरिएको छ। कुन कुन क्षेत्रबाट कति रकम आम्दानी भएको हो, कुन-कुन क्षेत्रमा कति रकम खर्च भएको हो सो उल्लेख छैन।
एनपीएलको पहिलो सिजनमा फ्रेन्चाइज टिम विक्री, एजेन्सी नियुक्ति, मुख्य प्रायोजक र टिकट बिक्री एनपीएल परिचालन परिषद्को आम्दानी देखिन्छ। अक्सनबाट ८ टिम १६ करोड ८८ लाख सङ्कलन भएको थियो। यसमा सबैभन्दा महँगो पोखरा एभेन्जर्स थियो।
क्यानले लिगको कमर्शियल राइट्स ब्रान्ड लजिकलाई पाँच करोड ९२ लाखमा विक्री गरेको थियो। मुख्य प्रायोजक सिद्धार्थ बैंकसँग पाँच वर्षका लागि सहमति भएको भने पनि क्यानले सम्झौता रकम औपचारिक रूपमा खुलाएको छैन। एनपीएल चलिरहेको समयमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतिवर्ष पाँच करोडमा सम्झौता भएको दाबी गरेका थिए।
यो आम्दानी मात्र जोड्ने हो भने पनि २७ करोड ८० लाख पुग्छ। क्यानले एनपीएल चलेको एक महिनासम्म ३ सयदेखि एक हजार रुपैयाँसम्म मूल्य राखेर टिकट विक्री गरेको थियो। पारस खड्काले एनसेल लगायतका कर्पोरेट हाउसहरूसँग समेत एनपीएलबारे सम्झौता गरेका थिए। त्यस बापत कति रकम आम्दानी भयो खुल्दैन।
बिहीबार सार्वजनिक गरिएको आम्दानी र खर्च विवरणमा एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी भएको उल्लेख छ। यो फ्रेन्चाइज टिम विक्रीसहितको रकम हो या त्यस बाहेक भन्ने समेत खुलाइएको छैन।
क्यानले टीयू मैदान क्षेत्रको मर्मत गरेको थियो। पाँच करोडमा लिगको प्रत्यक्ष प्रसारणको जिम्मा स्टार स्पोर्टस्लाई दिएको दाबी गरेको थियो। रणनीतिक पाट्नरको रूपमा टिसिएमलाई नियुक्त गरेको थियो अनि रेफ्री र प्रिजेन्टरहरु समेत ल्याएको थियो। प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको विज्ञप्तिमा उल्लेख छ। तर कुन शीर्षकमा कति भन्ने खुलाइएको छैन।
बिहीबार सार्वजनिक आम्दानी र खर्च विवरणमा एकमुष्ट आम्दानी र खर्च उल्लेख गरेर ७ करोड ५३ लाख ५१ हजार बचत भएको र त्यसमा बचत रकमको ५० प्रतिशत ४ करोड ३७ लाख ४० हजार ८ फेन्चाइच टोलीलाई बाँडिएको छ र बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ क्यानको सात प्रदेश कार्यालयलाई कटाएर क्यानलाई बाँकी २ करोड ४६ लाख ५० हजार जोगिएको उल्लेख छ।
किन पारित हुन सकेन एनपीएल आर्थिक विवरण ?
अपारदर्शी रूपमा ठेक्का गर्ने, प्रतिस्पर्धा नगराई लाइभ ब्रोडकास्टर चयन गर्ने, अनुमति नलिई विदेशी विज्ञापन त्यसमा पनि जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राख्ने, सरकारसँग अनुमति नलिई विदेशी कम्पनी र व्यक्तिसँग सम्झौता गर्ने लगायतका गतिविधिले एनपीएल प्रारम्भदेखि विवादमा तानिएको थियो।
तर पहिलो पटक कर्पोरेट क्षेत्रको सहभागितामा भएको खेलको उत्साहका कारण एनपीएल चलेसम्म प्रश्न उठे पनि नकारात्मक आलोचना भने भएन। पहिलो सिजन सकिएपछि भने परिचालन परिषद्को गतिविधिबारे प्रश्न उठ्न थाले।
परिषद्ले गरेका गैर कानुनी गतिविधिहरू प्रमाणसहित सार्वजनिक भए। यसबारे राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले चासो देखाएनन्। एनपीएलमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले छानबिन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दियो।
खेलकुद मन्त्रालयले कार्यदल गठन गरे पनि क्यानले मागेको प्रमाणहरू नदिएपछि अधुरो प्रतिवेदन बुझायो। त्यो प्रतिवेदन बिहीबारै अख्तियार पुगेको छ। बिहीबारको बोर्ड बैठकमा सार्वजनिक गरिएको आम्दानी र खर्चको विवरण र त्यसमा क्यानकै पदाधिकारीहरूले चित्त नबुझाई पारित नभएकाले एनपीएल पहिलो सिजनको आर्थिक गतिविधि थप शङ्कास्पद देखाएको छ।
मुख्य रूपमा परिचालन परिषद्का संयोजक पारस खड्काको ब्रान्ड लजिक र टिसिएमसँगको सम्बन्ध निकै शङ्कास्पद देखिन्छ। नेपालको प्रचलित कानुन विपरीत विदेशी कम्पनी र विदेशी नागरिकलाई गरेको भुक्तानी निकै शङ्कास्पद देखिन्छ। एनपीएल पहिलो सिजनको आर्थिक गतिविधि पारदर्शी छैन भन्ने बिहीबार सार्वजनिक भएको विवरणले पनि देखायो।
पारस भन्छन् : सदस्यहरूले विस्तृत हिसाब खोजे
बिहीबारको बोर्ड बैठकमा एनपीएलको आम्दानी र खर्च विवरण किन पास भएन भन्ने जिज्ञासामा सचिव खड्काले केही सदस्यहरूले आर्थिक हिसाबहरू विस्तृत हेर्छु भनेकाले समय दिएको बताए।
‘केही साथीहरूले केही विषयमा पारदर्शी हुनुपर्यो भन्नुभयो। केहीले थप विवरण मागेकाले समय दिएका हौँ,’ उनले सञ्चारकर्मीहरूसँग भने ‘ एनपीएललाई अगाडि बढाउने विषयमा सबैजना सहमत हुनु भएको छ।’
उनले विभिन्न कारणले एनपीएलको आर्थिक विवरण सार्वजनिक गर्न ६-७ महिना लागेको दाबी गर्दै परिचालन परिषद्ले आम्दानी र खर्चको विवरण बोर्डमा पेस गर्नुपर्ने भएकाले बोर्डमा पेस गरेको र केही सदस्यले विस्तृतमा मागेकाले नीतिगत रूपमा सम्बोधन गर्ने दाबी गरे।
साउन १५, २०८२ बिहीबार २३:१६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।