कागती फल्यो तर बजार छैन, बारीमै कुहिने अवस्था

कागती फल्यो तर बजार छैन, बारीमै कुहिने अवस्था

तनहुँ : तनहुँको देवघाट गाउँपालिका-२ का कृषक मनिष मल्ल कागतीको राम्रो उत्पादन हुँदाहुँदै पनि बजार नपाएर निराश छन्। सात वर्षअघिदेखि व्यावसायिक कागतीखेतीमा लागेका मल्लले अहिले बारीमै कागती कुहिने अवस्थामा पुगेको छ। 

मल्लले करिब २० रोपनी जमिनमा ५०० भन्दा बढी बोट कागती लगाएका छन्। अहिले कागती उत्पादन सिजनको अन्तिम चरणमा पुगेको छ। तर, बारीमै थुप्रिएको कागती बिक्री नहुँदा निराश बनेका मल्ल भन्छन्, ‘बारीसम्म गाडी पुग्दैन, मान्छेले बोकेर लैजाँदा ढुवानी खर्च अत्यधिक पर्छ। त्यसपछि पनि उचित मूल्य पाइँदैन।’ 

गत वर्ष चितवन, दमौली र पोखरामा केही बिक्री भए पनि यसपालि बजार नपाएर मल्ल काठमाडौंको कालीमाटी तरकारी बजार धाउन बाध्य भएका छन्। ‘काठमाडौँमा भए पनि बिक्यो भने केही राहत होला भनेर गएको,’ उनले भने, ‘तर त्यो पनि ढुवानी खर्चको भारले घाटामै जान सक्छ।’ 

बारीमै ३० किलोभन्दा बढी कागती किन्न आउने जोकोहीलाई टिप्न दिने व्यवस्था गरेको उनले बताए। ‘गाउँपालिकाले बजार व्यवस्थापन गरिदिएको भए यस्तो अवस्था आउँदैनथ्यो,’ उनले गुनासो गरे, ‘स्थानीय तहको दायित्व हो, तर अहिलेसम्म सहयोग देखिएको छैन।’
 
उत्पादनको समस्या मात्र होइन, मल्लका कागतीबारीमा हावाहुरीले क्षति पनि पुर्याएको छ। गत जेठ १ र २ गते आएको हावाहुरीले ५० बोट कागतीका बोट नष्ट पारेको उनले बताए। ‘वर्षौंको मिहिनेत हावाहुरीले बिगारिदिन्छ,’ मल्लको गुनासो छ।

देशमै केही गरौँ भन्ने सोचले कृषिमा लागेका मल्ल अहिले दोधारमा छन्।

साउन १५, २०८२ बिहीबार २१:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।