सुदूरपश्चिम सरकार जोगियो, मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम सरकार जोगियो, मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमार्फत विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिमा उनले विश्वासको मत लिएका हुन्।

बिहिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मत प्रस्तावमा ३० सांसदले समर्थन जनाए भने विपक्षमा १५ मत पर्यो। बैठकमा ४६ जना सांसद सहभागी थिए। सभामुख भीमबहादुर भण्डारीले बहुमत २७ भन्दा बढी मत परेपछि प्रस्ताव पारित भएको घोषणा गरे।

नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सांसद (कैलाश चौधरी)ले शाहको पक्षमा मत दिएका थिए। उता, माओवादी केन्द्रका १०, नेकपा (एकीकृत समाजवादी)का ३, राप्रपाका १ र एक स्वतन्त्र सांसदले विरोधमा मत हाले।

नागरिक उन्मुक्ति पार्टीका अन्य ६ सांसद बैठकमा अनुपस्थित रहे। सुदूरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा नेकपा (एस) का सांसद दीर्घबहादुर सोडारी भ्रष्टाचार मुद्दामा निलम्बनमा छन्।

यसअघि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् पुनर्गठनपछि उत्पन्न प्रश्न र परिस्थिति समाधान गर्न आफूले विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए।

‘सुशासन, स्थायित्व र समृद्धिको सहयात्रालाई निरन्तरता दिन विश्वासको मत आवश्यक थियो,’ उनले भने, ‘यो सरकारले गरेका थुप्रै कामहरू जनताको हितमा छन् भन्नेमा विश्वस्त छु।’ 

गत असार २० गते नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमको सत्ता समीकरण फेरिएको थियो।

साउन १५, २०८२ बिहीबार २१:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।