कांग्रेसप्रति जनताको अविश्वास बढ्दै जानुको कारण नेतृत्व पुस्तान्तरण नहुनु हो : प्रदीप पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसभित्र पुस्तान्तरण नहुँदा आम जनताको विश्वास गुम्दै गएको बताएका छन्।
बिहीबार राजधानीमा आयोजित परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रममा बोल्दै पौडेलले लामो समयदेखि एउटै ढर्राको नेतृत्व रहँदा कांग्रेसप्रति जनताको विश्वास घटिरहेको तर्क गरे।
‘हाम्रो पार्टी नेपाली कांग्रेसमा पछिल्लो पुस्ता नेतृत्वमा आउन सक्ने प्रक्रिया एकदमै परिणाममुखी ढंगले अघि बढ्न सकेको छैन,’ मन्त्री पौडेलले भने, ‘लामो समय एउटै प्रकारको नेतृत्व दोहोरिइरहँदा आमजनमा अविश्वास बढिरहेको देखिन्छ। कांग्रेसमा पुस्तान्तरण हुन नसकेको नै यसको एक प्रमुख कारण हो भन्ने लाग्छ।’
उनले नेतृत्वमा युवाको उपस्थिति सुनिश्चित गर्न नीतिगत हस्तक्षेप आवश्यक भएको औंल्याए। ‘अब पुस्तान्तरणका लागि परम्परागत प्रक्रियाबाट नेतृत्व छानिने सम्भावना छैन। त्यसैले नीतिगत रूपमा हस्तक्षेप गरेर नयाँ विकल्प स्थापित गर्नु आवश्यक छ,’ पौडेलले भने।
उनले पार्टीभित्र युवाले विचार र नीतिका आधारमा चुनौती दिन सक्ने वातावरण बनाउन जोड दिए। ‘विश्वास जित्न सकेनौं भने विकल्प दिन सक्दैनौं, त्यसैले त्यस पक्षमा केन्द्रित हुन आवश्यक छ,’ मन्त्री पौडेलले थपे।
साउन १५, २०८२ बिहीबार २०:४०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।