एनपिएल अनियमितता छानबिनको जिम्मा अब अख्तियारलाई, कार्यदलको प्रतिवेदन आयोग पठाए मन्त्रीले

एनपिएल अनियमितता छानबिनको जिम्मा अब अख्तियारलाई, कार्यदलको प्रतिवेदन आयोग पठाए मन्त्रीले

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा भएको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीसहित खेलकुद मन्त्रालयलाई छानबिन गर्न दिएको जिम्मेवारी उतै फर्किएको छ।

आयोगको निर्देशन अनुसार मन्त्रालयले गठन गरेको छानबिन कार्यदलले ‘अनुसन्धानकाक्रममा आवश्यक कागजातहरू माग्दा नेपाल क्रिकेट संघले उपलब्ध नगराएकाले निष्कर्षमा पुग्न नसकेको र थप छानबिन आवश्यक’ भन्दै बुझाएको प्रतिवेदन मन्त्रालयले बिहीबार आयोग पठाएको छ।

एनपीएलको पहिलो सिजनको खेलमा अनियमितता भएको प्रमाणहरू सार्वजनिक भएपछि आयोगमा उजुरी परेको थियो। उकेराले अनलाइन जुवाको प्रचार, नेपालको खरिद कानुन विपरीत ठेक्का, कानुन विपरीत विदेशी कम्पनीसँग सम्झौता र अवैध रूपमा विदेशी रकम भुक्तानीबारे प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ।

सोही विषयमा अख्तियारमा उजुरी परेपछि छानबिन गर्न भन्दै अख्तियारले उजुरीसहित खेलकुद मन्त्रालयमा पठाएपछि मन्त्री तेजुलाल चौधरीले कार्यदल गठन गरेका थिए। जेठ १२ गते रञ्जना प्रधानको संयोजकत्वमा गठित छानबिन समितिको समय सकिन लाग्दा समेत संघले एनपिएल सम्बन्धी कागजपत्र नदिएपछि कार्यदलले मन्त्री चौधरीलाई अनुसन्धानमा देखिएका विषयवस्तुसहित ‘थप छानबिन आवश्यक’ रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।

असार २७ गते मन्त्री चौधरीसमक्ष प्रतिवेदन बुझाएपछि उनले सो प्रतिवेदनमाथि राय माग्दै राष्ट्रिय खेलकुद परिषद्मा पठाएका थिए। तर तोकिएको समयभित्र परिषद्बाट राय नआएपछि प्रतिवेदन अख्तियार पठाउनेबारे आफूले निर्णय गरेको मन्त्री चौधरीले उकेरालाई बताए।

"थप अनुसन्धानको लागि अख्तियारमा आजै पठाएको हो। मैले साइन गरिसकेको छु। प्रतिवेदनको उद्देश्य के थियो त्यही पठाइदिएको छु," मन्त्री चौधरीले भने।

राखेप सदस्यसचिवको शङ्कास्पद भूमिका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ मंसिर ७ र फागुन १२ गते उजुरी परेको थियो। सोही उजुरीको आधारमा आयोगले मन्त्रालयसमक्ष उजुरीको ब्यहोरा पठाउँदै आन्तरिक अनुसन्धान गर्न भनेपछि मन्त्रालयले छानबिन कार्यदल गठन गरी अनुसन्धान गरेको थियो।

एनपिएलको प्रारम्भदेखि नै खेलको आवरणमा भएको बदमासी प्रमाणसहित सार्वजनिक भए पनि सदस्य सचिव टंकलाल घिसिङ मौन बसे। पछि उनी व्यक्तिगत भ्रमणका लागि क्यानको पैसामा अमेरिका गएको खुल्यो। प्रमाण उकेराले सार्वजनिक गरिसकेको छ। यसले घिसिङ र क्यान पदाधिकारीको शङ्कास्पद सम्बन्ध देखियो।

घिसिङले प्रारम्भदेखि नै एनपिएलबारे छानबिन गरिरहेको कार्यदललाई असहयोग गरेका थिए। उनले मन्त्रालयबाट मागेको राय समेत दिएनन्।

राखेपका सदस्य भोजानन्द राईले भने "राखेपबाट थप केही भएन। मन्त्रीज्यूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पठाउने गरी तोक लगाउनुभएकोले त्यही बमोजिम मन्त्रालय गएको छ।"

छानबिनमा क्यानको निरन्तर असहयोग

छानबिन कार्यदलले तीन पटक पत्राचार गरेकोमा नेपाल क्रिकेट संघ (क्यान) ले दुई पटक मात्र जवाफ दियो। त्यो पनि मागेको तथ्य नपठाई भावनात्मक जवाफ पठायो। त्यसपछि कार्यदलले तेस्रो पटक पत्राचार गर्दै कागजपत्रहरू मागेको थियो। तर क्यानले कुनै जवाफ दिएन। यता समय नथपिएपछि कार्यदलले प्रतिवेदन बुझायो।

प्रतिवेदनमा ‘क्यान पदाधिकारीको असहयोगका कारण एनपीएल पहिलो सिजनमा भएका अनियमित कामबारे निष्कर्षमा पुग्न नसकेको र थप छानबिन गर्न आवश्यक रहेको’ उल्लेख छ।

एनपिएलबारे मुख्य आरोप

उकेराको अनुसन्धानमा एनपिएल आयोजक समितिले समाचारको नाममा मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेर प्रचार गरेको, भारतीय कम्पनी टिसिएमसँग अनधिकृत सम्झौता गरेको, टिसिएमलाई नेपालको कानुनी बाटो छलेर विदेशी मुद्रा भुक्तानी गरेको, विदेशी कम्पनीसँग अनधिकृत सम्झौता गरेको, विज्ञापन र टिकटको आम्दानीमा बदमासी देखिएको, टेन्डर गर्दा निश्चित कम्पनीलाई पर्नेगरि कानुन उलङ्घन गरेको खुलेको थियो।

अख्तियारमा परेको उजुरीमा सार्वजनिक खरिद ऐन विपरीत टेन्डरबारे भ्रामक सूचना जारी गरेर सार्वजनिक खरिद ऐन विपरीत काम गरेको, नेपाली मिडिया तथा विज्ञापन उद्योगको स्रोत क्षमताको अवमूल्यन गरेको, प्रतिस्पर्धा गर्न नदिएको, विज्ञापन नियमन गर्ने ऐन उल्लङ्घन गरेको आरोप लागेको थियो।

विज्ञापन बोर्डमा दर्ता नगरी व्यवसाय गरेको, नेपालीहरूलाई आफ्नै देशमा भएको खेल हेर्न विदेशी टेलिभिजन च्यानलको सदस्यता लिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना गरेको,  राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम सरकारको स्वीकृति नलिई सम्झौता गरेको,  सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा विना नै स्टार स्पोर्ट्सलाई टेन्डर दिएको लगायतको आरोप लागेको थियो।

कार्यदलले यी नै विषयहरू उल्लेख गरेर तीन पटक क्यानसँग निर्णय, सम्झौता लगायतका प्रमाण मागे पनि उसले उपलब्ध गराएन।

एनपीएलबारे उकेराको श्रृंखला:

साउन १५, २०८२ बिहीबार १९:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।