६९ सालमा सेवानिवृत्त शिक्षकको हिजोका कुरा : सोलुको तिब्बती बस्तीमा तीन बच्चालाई नेपाली पढाउँदा बास र तरकारी सित्तैमा

३५ वर्षसम्म स्कुलका बालबालिकालाई अक्षर चिन्न सिकाएर सेवा निवृत्त भएका शिक्षक हुन् ओम प्रसाद कोइराला।
वि.सं. २००७ सालमा ओखलढुङ्गामा जन्मिएका कोइरालाको बाल्यकाल सहज थिएन। बुबा बिरामी, घरको अवस्था कमजोर। दुई भाइ, दुई बहिनी र परिवारको जिम्मा सानै उमेरमा उनकै काँधमा थियो।
कठिन अवस्थामा पनि उनले गाउँमै खुलेको पाठशालामा रुद्री, चण्डी पढ्न थाले। केही समयपछि फुपूकोमा सोलुखुम्बु गएका उनी त्यहीँ स्कुलको औपचारिक शिक्षामा जोडिए। वि.सं. २०२६ मा एसएलसी पास गरेपछि काकासँगै जनकपुरतिर लागे- त्यो पनि एक हप्ता हिँडेरै। जनकपुरमै उनले शास्त्री (स्नातक) तहसम्मको अध्ययन पूरा गरे।
पढाइ सकेर गाउँ फर्किएका उनले गाउँकै प्राथमिक विद्यालयमा प्रधानाध्यापक भएर शिक्षण यात्रा सुरू गरे। तीन महिनापछि सोलुखुम्बुस्थित एक निम्न माध्यमिक विद्यालयको शिक्षक पदका लागि आवेदन दिए र सफल पनि भए।
वि.सं. २०३१ सालबाट औपचारिक रूपमा शिक्षण पेशामा लागेका कोइरालाले ३५ वर्षसम्म ग्रामीण भेगका बालबालिकालाई शिक्षा दिए। अहिले ७५ वर्ष पुगेका कोइरालाले 'उकेराको' स्तम्भ ‘हिजोको कुरा’मा आफ्नो यात्राका तिता-मिठा अनुभव यसरी साटे:
शास्त्री पढ्न एक हप्ता पैदल हिँडेर जनकपुर
म २००७ सालमा ओखलढुङ्गा जिल्लाको सेर्ना गाउँपालिका-५ मा जन्मिएको हुँ। मैले थाहा पाउँदाको समयमा हाम्रो ठाउँलाई पूर्व ३ नम्बर ओखलढुङ्गा भनेर चिनिन्थ्यो। पछि गाउँ पञ्चायत, त्यसपछि गाविस हुँदै अहिले गाउँपालिका बनेको छ।
मेरो बाल्यकाल निकै कठिन थियो। मेरा बुबा म सानै हुँदा बिरामी पर्नुभयो। बुबाको मनस्थिति पनि केही कमजोर थियो। त्यसको असर हामी तीन दाजुभाइ र दुई बहिनीको जीवन र पढाइमा पर्यो। म घरको जेठो छोरो भएकाले जिम्मेवारी पनि बढी आयो। पढ्नै पर्छ भन्ने सोच बनाएँ।
हाम्रो गाउँमै ‘सेर्ना मिडिल स्कुल’ भन्ने विद्यालय थियो, त्यहीँ पाँच कक्षासम्म पढेँ। त्यो बेलाको स्कुल अहिलेका जस्ता थिएनन्। टहराजस्ता कच्ची भवनमा पढाइ हुन्थ्यो। भवन थिएन, कुर्सी थिएन, तर पढ्ने चाहना भने थियो।
त्यसपछि, हाम्रो बथाने भन्ने डाँडामाथिको ठाउँमा कर्मकाण्डी शिक्षा दिने पाठशाला थियो। त्यहाँ रुद्री, चण्डी, कर्मकाण्ड पढाइ हुन्थ्यो। म पनि त्यहीँ केही समय पढेँ। पछि म सोलुखुम्बुको सल्यानमा बस्ने फुपू दिदीको घर गएँ। त्यहाँ नजिकै भाषा पाठशाला थियो, जुन अहिले ‘बीपी संस्कृत मावि’ भनेर चिनिन्छ। त्यहीँ पढेँ।
२०२६ सालमा मैले एसएलसी पास गरेँ। त्यसपछि काकासँगै पढ्न जनकपुर गएँ। काकाले त हिँड्न सक्दिन भन्नुभयो, तर मैले सक्छु भनेर एक हप्ताको पैदल यात्रापछि उहाँसँगै जनकपुर पुगेँ। त्यहीँ बसेर मैले संस्कृतमा स्नातक अर्थात शास्त्री अध्ययन गरेँ। यो मैले वि.सं. २०३१ सालमा पास गरेको हुँ।
त्यो समय दलित समुदायका मानिसहरू पढ्न पाउँदैनथे। न त छोरी-चेलीहरूले नै। उनीहरूलाई रुद्री, चण्डी पढ्न हुँदैन भन्ने धारणा थियो। महिलाहरूले वेद पढ्नु हुँदैन, गायत्री मन्त्र जप्नु हुँदैन भन्ने कडा रूढिवादी संस्कार थियो। मैले थाहा पाउँदाको समय यस्तो नै थियो।
तर, अहिले हेर्दा सबैले पढ्न पाउने अवस्था छ। गायत्री मन्त्र त क्यालेन्डरमै छ्यापछ्याप्ती देखिन्छ। त्यो पुरानो रूढी त्यति कडा थिएन भन्ने होइन, तर समयक्रममा हाम्रो पुस्ताले केही न केही परिवर्तन स्वीकार्न थालेकै हो भन्ने लाग्छ।
योग्यता मावि पढाउने, दरबन्दी नभएपछि प्राविमा प्रअ
पढाइ सकेपछि म केही समय घरमै बसे। यत्रो वर्ष पढिसके पछि अब त कतै जागिर पाइयो भने गर्नुपर्ला भन्ने लाग्यो। त्यसै सोचेर ओखलढुङ्गाको सदरमुकामतिर लागेँ कतै टिचिङ गर्न पाइन्छ कि भनेर।
शिक्षा कार्यालय पुगे। त्यहाँ पुग्दा जिविसमा सेर्ना कै भोलामान सिंह कार्की हुनुहुन्थ्यो, पछि उहाँ माननीय पनि हुनुभयो। भेट हुँदा उहाँले सोध्नुभयो, कता हिँड्नुभयो सर?’
मैले भनेँ- ‘पढाइ सकेर आएको। जागिर पाइन्छ कि भनेर।’
उहाँले सोध्नुभयो- ‘के कामको जागिर चाहिएको?’
मैले भने- ‘जे भेटिन्छ, त्यही गर्छु।’
उहाँले टिचिङतिर लाग्ने हो? भनेर जिसिअसँग कुरा गरिदिने प्रस्ताव गर्नुभयो र मलाई शिक्षा कार्यालयसम्मै लैजानुभयो।
त्यहाँ जिसिअले मेरो शैक्षिक प्रमाणपत्र हेरेपछि भन्नुभयो- ‘तपाईं स्नातक उत्तीर्ण हुनुहुन्छ, माध्यमिक विद्यालय पढाउने योग्यता छ। तर अहिले माविमा कुनै दरबन्दी खाली छैन।’
मैले माविमा नै हुनैपर्छ भन्ने छैन, अन्यत्र पनि चल्छ भनेँ। त्यसपछि उहाँले भन्नुभयो- ‘तपाईंको घर नजिकैको प्राथमिक विद्यालयमा हेडमास्टरको दरबन्दी खाली छ। त्यहाँ जानुहुन्छ?’
मैले हुन्छ भनेँ। उहाँले सो विद्यालयबारे जानकारी दिँदा त्यहाँको नाम सेर्ना प्रावि रहेछ अनि हाल प्रअ एकजना थापा सर हुनुहुँदो रहेछ, जसको योग्यता एसएलसीभन्दा तल थियो।
भोलामान कार्कीजीले पनि ‘उहाँको कुरा ठिकै हो’ भनेर समर्थन गर्नुभयो। त्यसपछि म घरछेउकै सेर्ना प्राविमा प्रअ भए।
तीन महिनाजति सेर्ना प्राविमा काम गरेँ। त्यसबेला सोलुखुम्बु जिल्लाका निम्न माध्यमिक विद्यालयहरूमा शिक्षकका लागि विज्ञापन खुल्यो। मैले पनि आवेदन दिएँ र छनोटमा परे।
त्यो बेला सूचना पाउन अहिलेको जस्तो सजिलो थिएन। परीक्षा पास भएको खबर आफन्त वा भरियामार्फत आउँथ्यो। मलाई लाग्छ, त्यति बेलासम्म भर्खर आभाको सुरूवात भएको थियो।
अन्तर्वार्ताका लागि सोलुखुम्बु पुगे। जिसिअले भन्नुभयो- ‘तपाईं मावि पढाउन योग्य हुनुहुन्छ। तर, सोलुमै मावि कम छन्, अनि दरबन्दी सबै भरिएको छ। तपाईंलाई निम्न माध्यमिकमै पठाउँ?’
मैले भने-‘ हुन्छ सर, पछि मावि खुल्यो भने माविमा पढाउँछु।’
उहाँले सोध्नुभयो- ‘कहाँ पठाइदिऊँ?’
मैले घर नजिकैको ठाउँ मागे।
त्यसपछि सल्यान भन्ने ठाउँमा पठाइयो। त्यो ठाउँमा एक वर्षपछि माध्यमिक तह सञ्चालन हुने भनिएको थियो। म त्यहीँ पढाउन थालेँ।
तिब्बती समुदायको बस्तीमा पढाउन जाँदा भाषाको समस्या भयो
म पढाउनका लागि सोलुबाट झन्डै डेढ घण्टा माथि च्याल्सा भन्ने गाउँमा पुगेँ। त्यो गाउँ तिब्बती समुदायको बस्ती रहेछ। अन्य जातजातिको बासोबास थिएन।
अरु गाउँमा त पढाइ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुन्थ्यो, तर च्याल्सामा भने बिहान ९ बजेबाट सुरू भएर दिउँसो ३ बजे नै टुङ्गिन्थ्यो। जाडो मौसमका कारण यस्तो समय तालिका बनाइएको रहेछ।
यहाँ जानु अघिको कुरा भुलेछु। म आफ्नो घरबाट पोको पत्तरो बोकेरै जानुपर्ने भयो। कहाँ बस्ने, कहाँ खाने, कसरी सुत्ने- केही थाहा थिएन। स्कुल नजिकै पुग्दा नयाँ नेपाली टिचर आउनुभयो रे भन्ने हल्ला चलिसकेको रहेछ।
स्कुलको छेउमै विद्यालयका अध्यक्ष भेटिए। उहाँ पनि तिब्बती समुदायकै हुनुहुँदो रहेछ। यद्यपि, उहाँ नेपाली भाषा राम्रैसँग बोल्नुहुन्थ्यो। उहाँले भन्नुभयो- ‘मेरै घरमा बस्नुस्। खान बस्न कुनै पैसा लाग्दैन। तर, दुईवटा बच्चालाई नेपाली पढाइदिनुपर्छ।’
मैले जवाफमा भने- ‘हजुरहरूको कुरा त ठीकै हो। तर म ब्राह्मण परिवारको छोरो, हजुरहरूले बनाएको खाना म खान सक्दिनँ। मलाई संस्कारअनुसार छुट्टै पकाएर खानुपर्छ। त्यसैले छुट्टै घर चाहियो। मतान भए पनि चल्छ।’
त्यहीबेला अर्का एक जना शेर्पा पनि आउनुभयो। उहाँले पनि भन्नुभयो- ‘म खोल्साको वारि बस्छु, खोल्साको पारि मेरो मतान छ। त्यहाँ कोही बस्दैन। हजुर त्यहीँ बस्नुस्। तरकारीको पैसा तिर्नु पर्दैन, भाडा पनि छैन। मेरो तीन जना बच्चालाई नेपाली पढाइदिनुहोस्।’
मैले हुन्छ भनेँ र त्यहीँ बस्न थालेँ।
त्यहाँका स्थानीय केटाकेटीहरू नेपाली भाषा बोल्न जान्दैन थिए। सबैजसो तिब्बती भाषामै कुरा गर्थे। सुरूमा मलाई उनीहरूलाई पढाउन निकै गाह्रो भयो। म बोल्ने कुरा उनीहरू बुझ्दैनथे, उनीहरूले भन्ने कुरा म बुझ्दिनथे। पछि विस्तारै अभ्यस्त हुँदै गयौँ।
त्यो बेला निम्न माध्यमिक शिक्षकको तलब ३३७ रुपैयाँ मात्र थियो। त्यसमा दुर्गम भत्ता भनेर ५० प्रतिशत थपिन्थ्यो। मैले यस्तै चुनौतीहरू पार गर्दै पढाएँ। अन्ततः २०६९ सालतिर अवकाश पाएँ।
आजकल घरमै बसिरहँदा ती दिनहरू सम्झिन्छु। मैले कसरी पढाएँ होला भन्ने लाग्छ। उमेरले पनि साथ दिँदैन अब। जवानीको समयजस्तो त हुने कुरै भएन।
शिक्षक हुँदा कहिलै पार्टीको झण्डा बोकिन्
पञ्चायतकालमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूको प्रभाव राम्रै थियो। उनीहरूले शिक्षकहरूलाई पनि पार्टीमा आबद्ध गराउन आग्रह गर्थे। कतिपय शिक्षकहरू पार्टीको झण्डा बोकेरै हिँड्थे।
ममाथि पनि बारम्बार दबाब पर्यो। तर, झण्डा बोक्ने मन ममा कहिल्यै जागेन। मैले सधैँ यही भनिरहे- म विद्यार्थीहरूलाई पढाइरहेको छु। कृपया मलाई मेरो काम गर्न दिनुहोस्। उनीहरूले निकै दबाब दिए पनि म कहिल्यै प्रभावित भइँन।
किताब-सामग्री बोक्न खच्चडको भर
त्यो समयमा अहिले जस्तो यातायातको सुविधा थिएन। सोलुखुम्बुजस्ता दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न गधा र खच्चड नै प्रमुख माध्यम थिए। विद्यालयका किताब र शिक्षासामग्रीहरू पनि त्यहीँ खच्चडको भरमा पुर्याइन्थ्यो।
कहिलेसम्म पुग्ने हो, कहिले पढ्न पाउने हो। कुनै निश्चितता हुन्नथ्यो। निकै कठिन परिस्थितिमा पढाइ सञ्चालन हुन्थ्यो। इन्टरनेट, टेलिफोन, रेडियो, टेलिभिजन जस्ता कुराहरू त सोच्नै नसकिने हुन्थ्यो। गाडी भन्ने चिज मैले पहिलो पटक जनकपुरमा पढ्न जाँदा देखेको हुँ।
बडाहाकिमलाई गीत सुनाउँदा ५-५ रुपैयाँ पुरस्कार
म र मेरा भाइ सानैदेखि गीत गाउने र साहित्य लेख्ने काममा रमाउँथ्यौँ। प्राविमा पढाउनुहुने शिक्षकहरूमा बिजुली प्रसाद भट्टराई र ज्वालाप्रसाद कोइराला हुनुहुन्थ्यो। उहाँहरू निकै कडा अनुशासन पालक शिक्षकका रूपमा चिनिनुहुन्थ्यो।
त्यस बेला एकपटक पहाडको हाम्रो विद्यालयमा बडाहाकिम दानबहादुर शाही निरीक्षणमा आउनुभयो। त्यही कडा शिक्षकले हामीलाई आदेश गर्नुभयो- ओए केटा, एउटा गीत लेख। शिक्षकले भनेपछि नमान्ने कुरा थिएन। त्यसपछि हामीले गीत लेख्यौँ र शिक्षकलाई सुनायौँ।
गीत यस्तो थियो-
“खोलाको मुहानमा हिउँ छैन, तैपनि गर्जन छोड्दैन
आषाढ साउन महिनामा, उर्लिएर जान्छ दक्षिण
हेर न साथी क्या राम्रो, उर्लेको भुल्का देखियो
हामीलाई देखेर, हैसन गर्दै तर्कियो।”
यो गीत हामीले गाएको सुनेर बडाहाकिम दानबहादुर शाही निकै खुसी हुनुभयो। उहाँले हामी दाजुभाइलाई पुरस्कार स्वरूप पाँच-पाँच रुपैयाँ दिनुभयो। पछि कसैले “यी त दाजुभाइ हुन्” भनेपछि ५ रुपैयाँ थप गरेर १० रुपैयाँ बनाउनु भयो।
मैले यो गीत पछि रेडियो नेपालमा काम गर्ने एक साथीलाई पनि दिएको थिएँ। उहाँले त्यो गीत रेडियोमा वाचन गर्नुभएको रहेछ भन्ने कुरा मलाई घरको काकीले पछि सुनाउनुभयो।
विद्यालय पढाउने समयमा साहित्यमा खासै कलम चलाउन भ्याइएन। अहिले भने अवकाश जीवनमा दुईवटा कविता तथा लेख सङ्ग्रह प्रकाशित गरिसकेको छु। तर, पुस्तक छाप्न निकै महँगो पर्ने रहेछ। अहिले पनि फेरि एउटा कविता सङ्ग्रह तयार पारिरहेको छु। चाँडै निकाल्ने सोचमा छु।
साउन १५, २०८२ बिहीबार १९:१७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।