ह्याण्डब्यागमा डेढ किलोको कोकिन, प्रहरीले समात्यो चार विदेशी नागरिक

काठमाडौं : डेढ किलो कोकिनसहित भारतीय नागरिक ३५ वर्षीया रुबिना अब्दुल्लाह शेख र ३२ वर्षका अरुण प्रताप पक्राउ परेका छन्। लागु औषध अनुसन्धान ब्युरोको टोलीले कोकिन बोकेर आएकी शेख र कोकिन लिन गएका अरुणलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।
रुबिनाले बोकेको ह्याण्ड ब्यागमा कोकिन फेला परेको प्रहरीले जानकारी दिएको छ। उनले कोकिन लुकाउन ह्यान्डब्यागमा विशेष प्रकारको ट्युब बनाएकी थिइन्। रुबिना पक्राउ परेपछि प्रहरीले थप सूचनाको आधारमा अर्का भारतीय नागरिक अरुणप्रतापलाई पक्राउ गरेको थियो।
प्रहरीले अर्को विशेष अप्रेसनमा नागार्जुन नगरपालिका–३, इचंगुनारायणबाट युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभलाई समेत पक्राउ गरेको छ। उनीहरू कोकिन कारोबारी रहेको प्रहरीको दाबी छ।
साउन १५, २०८२ बिहीबार १७:३५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।