भैरहवाका बचतकर्ताको ५ करोड ९० लाख हिनामिना गरेर फरार दोलखाका केसी गठ्ठाघरबाट पक्राउ

बुटवल : भैरहवाको एक सहकारी संस्था ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ५, मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले दोलखाको साविक डाँडाखर्क गाविस वडा नं. ७ (हाल मेलुङ गाउँपालिका वडा नं. ६) बस्ने ३४ वर्षका अशोक केसीलाई पक्राउ गरेको हो।
उनी शेयर धनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए।
केसी संस्थाका अध्यक्ष समेत हुन्। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो। प्रहरीले गत वैशाख २० मा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो।
त्यसपछि रुपन्देही जिल्ला अदालतबाट प्रहरीले केसीविरुद्ध पक्राउ अनुमति समेत लिएको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए। तर, साउन १४ गते प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट पक्राउ गरी केसीलाई रुपन्देही ल्याइएका सापकोटाले जानकारी दिए।
केसीलाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएको उनले बताए।
साउन १५, २०८२ बिहीबार १६:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।