जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउने तयारीमा सरकार

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउने तयारीमा सरकार

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घटना जाँच सम्बन्धी ऐनको पनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए।

मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको पनि जानकारी दिए। 

उनले भने,‘जहाज दुर्घटनाका सन्दर्भमा स्थायी खालको दुर्घटनासँग सम्बन्धी एउटा निकाय चाहिने रहेछ। एउटाले आयो अध्ययन गरी छानबिन गरेर प्रतिवेदन दियो। अर्को दुर्घटनाको बेला यो सबै सम्झना पनि रहँदैन्। त्यसैले एउटा दुर्घटना जाँच सम्बन्धी ऐनपनि ड्राफ्ट हुँदै छ। स्थायी निकाय बनाउँछौं, त्यसैले काम गर्छ। नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारको लागि समग्र अध्ययन गर्नेगरी अध्ययन समिति बनेको छ।’

त्यस्तै मन्त्री पाण्डेले देवघाट, कालिगण्डकीको सभ्यता र इतिहास जोगाउनको लागि चाँडै नेतृत्व चयन गर्ने पनि बताए। 
उनले भने,‘देवघाटमा नेतृत्व चयन दुई दिनभित्र नै हुन्छ। नियुक्तिको प्रकृया केही ढिलो भएको थियो। त्यो चाँडै टुङ्ग्याउँछौं। त्यसपछि देवघाट, कालिगण्डकीको सभ्यताको परिचय र इतिहास जोगाउने काम हुन्छ।’

उनले गौरवका आयोजनाका केही कामहरू अदालत र  अख्तियारका कारणले रोकिएको बताउँदै देशको विकासको गतिलाई रोकेर नभई अगाडि बढाउँदै समन्वयात्मक ढंगले काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे। 

साउन १५, २०८२ बिहीबार १६:१३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।