मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङको नरिन खर्कमा दुर्लभ प्रजातिको सानो उल्लु (हिमाली कोचलगाडेँ) दुई बच्चासहित फेला परेको छ।
स्थानीय सोनाम छिरिङ गुरुङले गोठभित्र देखा परेको उल्लुको जोडी र बच्चाहरूको तस्बिर आफ्नो मोबाइलमा कैद गरेका छन्। गुरुङका अनुसार ती उल्लुहरू उनको च्याङ्ग्रा गोठभित्र देखा परेका थिए।
उक्त घटनाले नेपालमा सानो उल्लुको प्रजनन भएको पुष्टि गर्ने सम्भावना देखिएको छ। फ्रेन्ड्स अफ नेचर नेपाल का अध्यक्ष सोम जिसी र पूर्व एनटीएनसी–एक्याप का संरक्षण अधिकृत ऋषि बरालका अनुसार गोठमा भेटिएका उल्लुहरू सानो उल्लु प्रजातिका हुन सक्ने अनुमान गरिएको छ।
सानो उल्लु पहिले पनि नेपालका केही हिमाली जिल्लाहरूबाट अभिलेखित भए पनि यस्ता अभिलेखहरू वैज्ञानिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छन्, विशेषतः प्रजातिको वितरण, आवास, र प्रजनन अवस्थाबारे अध्ययन गर्नका लागि।
नेपालमा उल्लुहरू दुई परिवारअन्तर्गत २३ प्रजातिमा वर्गीकृत छन्। तिनमध्ये सानो उल्लु एक महत्वपूर्ण हिमाली प्रजाति हो, जुन समुद्री सतहबाट २,७१५ मिटरदेखि ४,९५० मिटर उचाइमा पाइन्छ।
उल्लुहरूको उपस्थिति विशेष गरी दार्चुला, डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा, र सोलुखुम्बु जस्ता हिमाली जिल्लाहरूमा देखिने गरेको छ।
सानो उल्लु अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, लाङटाङ, मकालु–बरुण, र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जहरूमा पनि पाइन्छ।
हालसम्म नेपालमा यस प्रजातिलाई राष्ट्रिय रूपमा 'कम संकटग्रस्त' श्रेणीमा राखिएको छ। तर, विज्ञहरूका अनुसार यसको संख्या घट्दै गएको अनुमान छ।
नेपालमा उल्लुहरू सांस्कृतिक मिथक, विश्वास र परम्परासँग गहिरो रूपमा जोडिएका छन्। तर वैज्ञानिक अध्ययन, वितरण र अवस्थाबारे तथ्यांक सीमित छन्।
मासु, औषधीय प्रयोग, अवैध व्यापार तथा पाल्तु रूपमा राख्नका लागि गरिने चोरी शिकारी, विषादी प्रयोग र जनचेतनाको कमीका कारण उल्लु प्रजाति थप संकटमा परेको संरक्षणकर्मीहरूको भनाइ छ।
तेताङमा फेला परेको यो उल्लु प्रजातिको पछिल्लो अभिलेखले नेपालमा थप अनुसन्धान, निगरानी र संरक्षण अभियानको खाँचो देखाएको छ।
साउन १५, २०८२ बिहीबार १५:०३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।