नेपालले महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने

नेपालले महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने

काठमाडौं : नेपालले आईसीसी महिला टी-२० विश्वकप २०२६ को ग्लोबल छनोट आयोजना गर्ने भएको छ।

आईसीसीले बिहीबार एक पोस्ट गर्दै यसबारे आधिकारिक जानकारी दिएको हो। प्रतियोगिता १२ जनवरीदेखि १६ फेब्रुअरीसम्म २०२७ मा हुनेछ।

नेपालले एसियाली क्षेत्रीय छनोटबाट उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गरेको थियो। एसिया क्षेत्रबाट नेपालसँगै थाइल्याण्डले पनि यो छनोटमा स्थान बनाएको छ भने अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ।

१० टोलीबीच प्रतिस्पर्धा, विश्वकपको सपना
नेपालमा आयोजना हुने यस ग्लोबल छनोट प्रतियोगितामा कुल १० टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूलाई पाँच-पाँचको दुई समूहमा विभाजन गरिनेछ। समूह चरणको खेलपछि ‘सुपर सिक्स’ चरण हुनेछ।

अमेरिका, नेपाल र थाइल्यान्डबाहेक बंगलादेश र आयरल्याण्डले २०२४ मा आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका कारण छनोटमा स्वतः स्थान बनाइसकेका छन्।

बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई-दुई तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोलीले आ-आफ्नो क्षेत्रीय छनोट पार गरेर आउनेछन्। प्रतियोगिताको पूरा खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

इंग्ल्याण्डमा हुनेछ विश्वकप, लर्ड्समा फाइनलको लक्ष्य
यस छनोटबाट विश्वकपमा स्थान बनाउने चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने प्रतिष्ठित प्रतियोगितामा खेल्न पाउनेछन्। आईसीसीले महिला टी-२० विश्वकप २०२६ को तालिका पनि सार्वजनिक गरिसकेको छ।

विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ। २४ दिनसम्म चल्ने यस प्रतियोगितामा ३३ खेलहरू हुनेछन्।

खेलहरू ओल्ड ट्राफोर्ड, हेडिङ्गली, ह्याम्पशायर बल जस्ता विश्वप्रसिद्ध मैदानमा हुनेछन् भने प्रतियोगिताको भव्य फाइनल क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा आयोजना हुनेछ।

नेपाली महिला क्रिकेट टोलीका लागि आफ्नो घरेलु मैदानमा ग्लोबल छनोट जितेर पहिलो पटक विश्वकप खेल्ने र लर्ड्समा खेल्ने सपना साकार पार्ने यो एक ऐतिहासिक अवसर हो।

साउन १५, २०८२ बिहीबार १४:११:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।