‘पाँडे’को डेब्यु निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’; मुहूर्तमा देखिएनन् जिग्री, बले र कक्रोज

‘पाँडे’को डेब्यु निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’; मुहूर्तमा देखिएनन् जिग्री, बले र कक्रोज

काठमाडौं : हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन्।

बिहीबार काठमाडौंको एक मन्दिरमा शुभ मुहूर्त गर्दै उनको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारिक घोषणा गरिएको हो।

तर, कार्यक्रममा उनका लामो समयदेखिका सहयात्री कुमार कट्टेल ‘जिग्री’ र ‘सक्किगोनी’ टिमका अन्य मुख्य कलाकारहरूको अनुपस्थितिले उनीहरूबीचको सहकार्यमा आएको दरारलाई थप स्पष्ट पारेको छ।

‘भद्रगोल’ टेलिश्रृंखलादेखि सहकार्य गर्दै आएका जिग्री र पाँडेको व्यावसायिक दोस्ती ‘सक्किगोनी’ हुँदै उनीहरूले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ सम्म कायम थियो।

तर, यही चलचित्र निर्माणपछि कथा, कलाकारको भूमिका र आर्थिक विषयमा मतभेद बढ्दा उनीहरूको सम्बन्ध चिसिएको अनुमान गरिएको छ। यद्यपि, दुवै कलाकारले यसबारे आधिकारिक रूपमा केही बोलेका छैनन्।

‘सक्किगोनी’ टिमबाट दीपकप्रसाद आचार्य (काकु) र चलचित्रकी एक कलाकार प्रियना आचार्य (मुन्नी) बाहेक अरू कोही उपस्थित भएनन्। कुमार कट्टेललाई निम्तो दिइए पनि उनी शुभकामना दिन पुगेनन्।

त्यसैगरी, ‘सक्किगोनी’का अन्य लोकप्रिय कलाकारहरू हरि निरौला (कक्रोज), सागर लम्साल (बले), सीतादेवी तिमिल्सिना, रक्षा श्रेष्ठ लगायतको अनुपस्थितिले सबैको ध्यान तानेको थियो।

कार्यक्रममा ‘सक्किगोनी’ टिमबाट आफू एक्लोजस्तै देख्दा अभिनेत्री प्रियना आचार्यले समेत आश्चर्य व्यक्त गरेकी थिइन्। मुहूर्तमा चलचित्र क्षेत्रका अन्य कलाकारहरूको भने बाक्लो उपस्थिति थियो।

पारिवारिक कथावस्तुमा आधारित रहने यो चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्यका साथै एक दशकपछि पर्दामा फर्किन लागेका गणेश उप्रेतीको मुख्य अभिनय रहनेछ।

सुशील कडरियाको लगानी र पशुपति शिवजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा कुमार बेनले लेखेका हुन् भने पटकथा निर्देशक घिमिरे र विशाल घिमिरेले तयार पारेका छन्।

निर्देशक घिमिरेका अनुसार चलचित्रको छायांकन बिहीबारबाटै काठमाडौं, ललितपुर र भक्तपुरमा सुरु भएको छ र यसलाई ३० दिनभित्र सक्ने लक्ष्य राखिएको छ। चलचित्रलाई बुद्ध थापाले खिच्नेछन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले विशेष अतिथिका रूपमा उपस्थित भएर चलचित्र टिमलाई शुभकामना दिएकी थिइन्।

साउन १५, २०८२ बिहीबार १४:०२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।