मन्त्री बदल्न बालुवाटारमा एमाले-कांग्रेस छलफलमा

मन्त्री बदल्न बालुवाटारमा एमाले-कांग्रेस छलफलमा

काठमाडौं : सरकारमा रहेका मन्त्रीहरू बदल्न प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा रहेका दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेका नेताहरू छलफलमा जुटेका छन्। सरकार बनेको एक वर्ष पुगेको र विवादित तथा कार्यसम्पादन निकै कमजोर भएका मन्त्रीहरू बदल्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सरकारको मुख्य सहयोगी कांग्रेसको नेतृत्वसँग छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री ओलीले सरकारमा रहेका आफ्नो दलका केही मन्त्रीसँगै सरकारको सहयोगी दलबाट समेत केही मन्त्री बदल्न गृहकार्य सुरु गरेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा गएकाहरू आलोपालो नेतृत्व अनुसार आफ्नो नेतृत्वमा मात्र बदल्ने सन्देश दिएपछि अन्तिम पटक छलफलका लागि प्रधानमन्त्री ओलीले बैठक राखेका हुन्।

कांग्रेस सहमत नभए एमालेका तर्फबाट गएका मात्र भए पनि मन्त्रीहरू बदल्ने तयारीमा प्रधानमन्त्री ओली रहेको उनको सचिवालयस्रोतले उकेरालाई जानकारी दियो। पोखराको १३५ रोपनी जग्गा प्रकरणमा ३२ लाख घुस खाएको आरोप लागेका भूमीसुधारमन्त्री बलराम अधिकारी, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीसँगै सहभागीहुँदा मस्त सुतेका रक्षामन्त्री मानवीर राई रेड लिस्टमा रहेको एमाले स्रोतले बतायो।

सरकारलाई सहयोग गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट श्रममन्त्री रहेका शरत् सिंह भण्डारीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई पत्र समेत बुझाइसकेको छ। अन्य सत्ता घटक दल समेत आफ्नो पार्टीबाट सरकारमा गएकालाई बदल्ने तयारीमा छैनन्।

देउवा तत्काल सरकारमा रहेका पार्टीका मन्त्रीहरू बदल्ने मनस्थितिमा नरहे पनि उनकै समूहका नेताहरूले भने मन्त्रीहरू बदल्न माग गर्दै आएका छन्। विवादमा परेका र कार्यसम्पादन कमजोर रहेकाहरूलाई बदल्नुपर्ने भन्दै कृष्ण सिटौला लगायतका नेताहरूले देउवालाई दबाब दिँदै आएका छन्।

बालुवाटारमा सुरु भएको बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन्। उता कांग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवासहित, उपाध्यक्ष पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

साउन १५, २०८२ बिहीबार १४:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।