लेखापालको किर्ते हस्ताक्षरमा प्रधानाध्यापकले आफ्नो नाममा निकाले ३१ लाख, अख्तियारमा पर्यो दुई उजुरी

विदुर : नुवाकोटको तारकेश्वर गाउँपालिका-५ कल्लेरीडाँडास्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीले किर्ते हस्ताक्षर गरी आर्थिक कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
प्रधानाध्यापक अधिकारीले तारकेश्वरस्थित हिमालयन बैंकमा रहेको विद्यालयको खाताबाट किर्ते हस्ताक्षर गरी ६३ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको भन्दै आयोगमा उजुरी परेको हो। चैत अन्तिमदेखि असार अन्तिमसम्म तीन महिनाको अवधिमा आफ्नो नाममा समेत ३१ लाखभन्दा बढी रकमको चेक काटेको खुलेपछि उनीविरुद्ध उजुरी परेको हो।
उकेरालाई प्राप्त कागजातअनुसार विद्यालयको खाताबाट उनले चैत ३१ गते प्रधानाध्यापक अधिकारीको नाममा ६ लाख रुपैयाँको चेक काटिएको छ भने असार २४ गते उनै प्रधानाध्यापक अधिकारीको ज्योति विकास बैंकको खातामा २५ लाख ३६ हजार नौ सय ५५ रुपैयाँ गरी कुल ३१ लाख ३६ हजार नौ सय ५५ रुपैयाँ जम्मा भएको छ।
तारकेश्वरमा रहेको हिमालयन बैंकमा रहेको खातामा प्रधानाध्यापक अधिकारी र विद्यालयकी पूर्वलेखापाल अनिता तामाङको हस्ताक्षर चल्छ। तामाङले २०८१ फागुन १ गते नै विद्यालयको लेखापाल पदबाट राजीनामा दिए पनि असार मसान्तसम्म काटिएका चेकमा उनको हस्ताक्षर छ।
विद्यालयका प्रधानाध्यापक अधिकारीले चेकमा आफ्नो कीर्ते हस्ताक्षर गरेर आर्थिक कारोबार गरिरहेको पूर्व लेखापाल तामाङको आरोप छ। अध्ययनका लागि हाल बेलायतमा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफू पदमा नरहेको अवस्थामा भएका कुनै पनि आर्थिक गतिविधिको जिम्मेवारी नहुने बताएकी छन्।
तर, यता प्रधानाध्यापक अधिकारीले भने तामाङले राजीनामा दिएको मितिभन्दा पछि पनि हिमालयन बैंकको नौ वटा चेकबाट आर्थिक कारोबार गरेको देखिन्छ। लेखापालले राजीनामा दिएको पाँच महिना बितिसक्दा पनि विद्यालयको बैंक खाता अहिलेसम्म उनको नाम र हस्ताक्षर बदलिएको छैन।
तामाङको राजीनामा स्वीकृत गर्न र नयाँ लेखापाल नियुक्त गरी विद्यालयको खाता सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिको बैठक बस्नुपर्ने हुन्छ। तर, गत २०८१ पुसमा तत्कालीन विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ समिति गठन हुन सकेको छैन।
व्यवस्थापन समिति गठनका लागि जेठमा अभिभावक भेला भए पनि राजनीति खिचातानीका कारण हुन नसकेको विद्यालयका सूचना अधिकारी रामकुमार अधिकारी स्वीकार गर्छन्। अभिभावकबाट छानिनुपर्ने चार जनामा राजनीतिक भागबण्डा नमिलेको उनको भनाइ छ।
‘अभिभावकबाट छानिनुपर्ने चार जनामा कुरा नमिल्दा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन,’ उनले उकेरासँग भने, ‘त्यसैले लेखापाल तामाङको राजीनामा स्वीकृत हुन र अर्को लेखापाल नियुक्त हुन सकिरहेको छैन।’
चार र नौ चेकको रहस्य
विद्यालयको आर्थिक कारोबार प्रधानाध्यापक र लेखापालको संयुक्त हस्ताक्षरबाट मात्र चल्ने प्रावधान छ। तर, लेखापालको अनुपस्थितिमा प्रधानाध्यापक अधिकारीले किर्ते हस्ताक्षरको सहारा लिए।
यस प्रकरणमा सबैभन्दा गम्भीर प्रश्न चेकको सङ्ख्यामा उठेको छ। पूर्व लेखापाल तामाङले उकेरासँगको कुराकानीमा आफूले राजीनामा दिनुअघि माघ महिनामा केवल चार वटा खाली चेकमा हस्ताक्षर गरेको बताएकी छन्।
‘मन्दिर निर्माणको सामग्री खरिदका लागि चाहिन्छ भनेर अनुरोध गरेपछि मैले चारवटा चेकमा सही गरेकी हुँ, तलबका लागि होइन’, उनले भनिन्।
तर, उनले राजीनामा दिएपछि असार मसान्तसम्म विभिन्न प्रयोजनका लागि कम्तीमा नौ वटा चेक प्रयोग भएको उकेरालाई प्राप्त कागजातले देखाउँछ।
तामाङको राजीनामापछि हिमालयन बैंकको चेक नम्बर ४०...३८ देखि ४०...४६ सम्म गरी नौ वटा चेक साटिएको छ। ती चेकबाट कुल ६३ लाख ५८ हजार छ सय २४ रुपैयाँ भुक्तानी भएको छ। त्यसमध्ये पनि प्रधानाध्यापकको नाममा मात्र ३१ लाख ३६ हजारको चेक काटिएको छ।
यदि तामाङले चार वटा चेकमा मात्र हस्ताक्षर गरेकी हुन् भने बाँकी चार वा सोभन्दा बढी चेकमा हस्ताक्षर कसले गर्यो? यो प्रश्नले प्रधानाध्यापक अधिकारीमाथि किर्ते गरेको आरोपलाई थप बलियो बनाउँछ।
पीडितको गुनासो : तलब पनि पाइनँ, हस्ताक्षर दुरुपयोग भयो
बेलायतमा रहेकी तामाङले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नु र नयाँ लेखापाल नियुक्ति गर्न नसक्नु मेरो समस्या होइन। मेरो हस्ताक्षर प्रयोग गरी सबै कर्मचारीलाई तलब वितरण गरियो, तर मैले राजीनामा दिनुअघि काम गरेको पुस र माघ महिनाको तलब खै?’
उनले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी भोलि गम्भीर आर्थिक अपचलन भएमा त्यसको जिम्मेवार आफू नहुने भन्दै सम्बन्धित बैंकहरूलाई समेत इमेलमार्फत जानकारी गराएको बताएकी छन्। उनले हिमालयन बैंकलाई पठाएको इमेलको स्क्रिनसट सेयर गर्दै बैंकले कुनै प्रतिक्रिया नदिएको गुनासो गरेकी छन्।
तर, नेपाल बैंकले भने इमेल प्राप्त भएको भोलिपल्टै त्यस्ता हस्ताक्षर भएका चेक आएमा मान्यता नदिने जानकारी गराएको थियो।
यसका अलावा उनले प्रधानाध्यापक अधिकारीले आफ्नो हस्ताक्षर किर्ते गरेर अन्य चेक समेत साटेको आरोप लगाइन्। आफ्नो हस्ताक्षर सजिलो भएको र त्यसो नगर्न पटक–पटक व्यक्तिगत रूपमा प्रधानाध्यापकलाई आग्रह गर्दा पनि नटेरेकाले सञ्जालमा लेखेको बताइन्।
‘यो गैरकानुनी हो भनेर मैले उहाँलाई पटक-पटक भनेँ तर उहाँले मान्नुभएन त्यसैले मैले फेसबुकमा राखेको हुँ,’ उनले उकेरासँगको कुराकानीमा भनिन्, ‘मैले त्यहाँ रहँदा मंसिरसम्मको तलब खुवाएको हुँ। त्यसभन्दा पछि पुस र माघको तलब म आफैँले पनि पाएको छैन।’
अख्तियारमा दुई उजुरी
विद्यालयमा शंस्कास्पद र किर्ते गरेर आर्थिक गतिविधि भएको भन्दै स्थानीय अभिभावकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वटा उजुरी दर्ता गरेका छन्। पहिलो उजुरी सी-०८१६१० र दोस्रो उजुरी सी-००२७४७ नम्बरमा दर्ता भएको छ।
उजुरीमा विद्यालयकी लेखापाल तामाङले राजीनामा दिएर बेलायत पुगिसकेको र उक्त पदमा अर्को व्यक्ति नियुक्त नभएको अवस्थामा लेखापाल तामाङको हस्ताक्षर किर्ते गरी आर्थिक कारोबार गरिरहेको उल्लेख छ।
उजुरीमा भनिएको छ, ‘मिति २०८१ फागुन ०२ गते पछि उक्त विद्यालयको नाममा रहेको नेपाल बैंक लिमिटेड खाता नं. ०२६००१००२४११९६०००००१ र हिमालयन बैंक लिमिटेड खाता नं. ०५८०७५८५४९००१५ लाई नियन्त्रण गरि छानविन प्रक्रिया अघि बढाउनुहुन र किर्ते दस्तखत गरि चेक सटही गर्ने प्रधानाध्यापकमाथि कारबाहीको प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’
के भन्छ विद्यालय प्रशासन?
विद्यालयमा भइरहेको अनियमितता र उठेका प्रश्नका बारेमा विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। उकेराले पठाएको म्यासेजको समेत उनले कुनै जवाफ दिएका छैनन्।
तर, विद्यालयका सूचना अधिकारी रहेका रामकुमार अधिकारीले पनि यसबारेमा केही बोलेका छन्। उनले राजीनामा दिनुअघि आवश्यकताभन्दा बढी चेकमा हस्ताक्षर गएको दाबी गरेका छन्। उनले यसलाई लेखापाल तामाङको गल्तीको रूपमा औँल्याएका छन्।
‘राजीनामा दिनुअघि आवश्यकताभन्दा बढी चेकमा हस्ताक्षर गर्नु उहाँको पनि गल्ती छ’, उनले भने।
यद्यपि उनले विद्यालयले चैत र वैशाख महिनाको तलब दिन विद्यालयकी पूर्व लेखापाल तामाङको नाम र हस्ताक्षर किर्ते गर्नु गल्ती भएको स्वीकारे।
‘विद्यालयको कम्प्युटरमा उहाँको डिजिटल हस्ताक्षर र नाम थियो,’ उनले तर्क गरे, ‘त्यहाँ मिति र चेक नम्बर सच्याएर बैंकमा तलबका लागि पेश गरेका हौँ। त्यहाँ गल्ती भएको हो।’
तर, विद्यालयका प्रधानाध्यापक राजारामले चेकमा किर्ते हस्ताक्षर गरेर साटेको विषय भने उनले ठाडै अस्वीकार गरे।
‘विद्यालयले गर्नुपर्ने भुक्तानी गर्न समस्या त थियो। हेडसरले चेकमा अनिता तामाङको किर्ते गरेको कुरा सत्य होइन,’ उनले थपे, ‘उहाँले हस्तााक्षर गरेर जानुभएको चेक प्रयोग गरेका हौँ। अन्तिम चेक बाँकी रहेको अवस्थामा हामीले सोही चेकबाट हेडसरको खातामा २५ लाखभन्दा बढी रकमको चेक काट्यौँ।’
राजीनामा दिइसकेको कर्मचारीको नामबाट रकम निकाल्नु विद्यालयको कमजोरी छैन भन्ने उकेराको प्रश्नमा उनले भने, ‘शिक्षकहरूको तलब तथा असार मसान्तमा हिसाब मिलान गर्नुपर्ने भएकाले हामीले उक्त चेक प्रयोग गरेका हौँ।’
यतिमात्र होइन, उनले नबिल बैंकको दुई वटा चेकमा अझ पनि अनिता तामाङको हस्ताक्षर रहेको भन्दै त्यो पनि प्रयोगमा आउनसक्ने बताए।
यद्यपि यस विषयमा बेलायतमा रहेकी तामाङसँग उकेराले सम्पर्क गर्दा उनले नबिल बैंकको चेकबुक आफूले देख्दै नदेखेको बताउँछिन्।
उनी भन्छिन्, ‘नबिल बैंकको एकाउन्ट खोल्ने बेलामा सही गरेको हो। तर मैले त्यसको चेक अहिलेसम्म पनि देख्न पाएको छैन। हस्ताक्षर कसरी गर्नु? नबिल बैंकको चेकमा भएको मेरो हस्ताक्षर पनि किर्ते गरिएको हो।’
एमाले र माओवादीद्वारा छानबिनको माग
यसैबीच विद्यालयमा भएको आर्थिक अनियमतिताको विषयमा ताककेश्वर गाउँपालिकाको एमाले र माओवादी केन्द्रले पनि चासो देखाएको छ।
दुई पार्टीका पालिका कमिटीले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमा भएको यस्तो अनैतिक, गैरकानुनी तथा आपराधिक क्रियाकलापप्रति खेदजनक भएको बताएको छ। विद्यालयमा भएको गतिविधिबारे सार्वजनिक रुपमा प्रश्न उठ्दा पनि स्थानीय तह र शिक्षा शाखाको मौन बस्नु आश्चर्यजनक भएको उनीहरूको भनाइ छ।
दुई दलले विद्यालयको सम्पूर्ण आर्थिक क्रियाकलापको पारदर्शिता सुनिश्चित गर्न स्वतन्त्र तथा निष्पक्ष छानबिन समिति गठन गर्न, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहको शिक्षा शाखा तथा सरोकारवाला सबै निकायले घटनाप्रति तत्काल स्पष्ट र जिम्मेवार धारणा सार्वजनिक गर्न माग गरेका छन्।
संयुक्त विज्ञप्तिमा माओवादी केन्द्र तारकेश्वर गाउँ कमिटीका कार्यवाहक अध्यक्ष बम बहादुर तामाङ र एमाले तारकेश्वर गाउँ कमिटीका अध्यक्ष रणबहादुर तामाङको हस्ताक्षर छ।
हुनसक्छ पाँच वर्षसम्म कैद
नेपालको कानुनी व्यवस्थामा किर्ते अर्थात् झुटा कागजात तयार पार्ने, नक्कली विवरण समावेश गर्ने वा जानीजानी गलत कागजात प्रयोग गर्ने कार्यलाई फौजदारी अपराधको रूपमा लिइएको छ।
फौजदारी अपराध (संहिता) ऐन, २०७४ मा दस्तावेज किर्तेसम्बन्धी स्पष्ट कानुनी प्रावधानहरू छन्। ऐनको भाग ५ अन्तर्गत उल्लेख भएअनुसार, कसैले गलत नाउँ, मिति वा जानकारी प्रयोग गरी कागजात बनाउने कार्य दस्तावेज किर्ते मानिन्छ र त्यसको सजायस्वरूप एक वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिवाना, वा दुवै हुन सक्छ।
यस्तै, किर्ते कागजात प्रयोग गर्ने कार्य पनि कानुनतः अपराध हो, जसको लागि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ।
सरकारी कागजात (जस्तै नागरिकता, शैक्षिक प्रमाणपत्र, जग्गा धनीपुर्जा आदि) मा किर्ते गर्ने कार्य अझ गम्भीर अपराध मानिन्छ, जसको सजाय पाँच वर्षसम्म कैद, पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ।
किर्ते अपराधलाई राज्यविरुद्धको अपराध मानेर सरकारी वकिलद्वारा मुद्दा चलाइने कानुनी प्रक्रिया छ। साथै, किर्ते प्रमाणित भएमा सम्बन्धित कागजातलाई अमान्य ठहर गरिने व्यवस्था पनि छ।
पीडित पक्षले प्रहरी कार्यालय वा सम्बन्धित अदालतमा उजुरी दिन सक्ने अधिकार राख्दछ, र कानुनी उपचार पाउन सक्छ।
साउन १५, २०८२ बिहीबार १३:४८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।