कांग्रेस नेता सञ्चालक रहेको सहकारीमा नीतिविपरीत ८५ करोड परिचालन, १२ करोड सिधै हिनामिना भएको समितिको ठहर

कांग्रेस नेता सञ्चालक रहेको सहकारीमा नीतिविपरीत ८५ करोड परिचालन, १२ करोड सिधै हिनामिना भएको समितिको ठहर

बुटवल : रुपन्देहीको तिलोत्तमास्थित डिङ्गर नगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवले करिब ८५ करोड रुपैयाँबराबरको बचत रकम सहकारीको नीतिविपरीत परिचालन गरेको खुलासा भएको छ।

सदस्यहरूको बचत अपचलनबारे छानबिन गर्न गठित स्वतन्त्र लेखा परीक्षक समितिले संस्थामा १२ करोड रुपैयाँ सिधै हिनामिना भएको र थप २५ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन तयार पारेको छ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा फरार भएपछि अन्य सञ्चालक र बचतकर्ताहरूको पहलमा लेखापरीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिएको थियो। तिवारी र थापा दुवै नेपाली कांग्रेसका स्थानीय नेता हुन्।

सात सदस्यीय लेखा परीक्षक टोलीले २८ दिन लगाएर तयार पारेको करिब ४५० पृष्ठको विस्तृत प्रतिवेदन बचतकर्ताहरूद्वारा गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई हस्तान्तरण गरिसकिएको छ।

उक्त प्रतिवेदनलाई थप कारबाहीका लागि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा पठाइएको छ। रजिष्ट्रार कार्यालयले प्रतिवेदनको अध्ययनपछि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ।

अडिट प्रतिवेदनलाई हालसम्म गोप्य राखिएको छ। यद्यपि, स्रोतका अनुसार प्रतिवेदनमा १२ करोड रुपैयाँ हिनामिना, २५ करोड रुपैयाँ अपचलन र करिब ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको स्पष्ट रूपमा उल्लेख छ।

लेखा परीक्षक बास्तोलाले आफूहरूले अध्ययनमा भेटिएका सम्पूर्ण तथ्यहरूलाई प्रतिवेदनमा समावेश गरेको तर त्यसलाई सार्वजनिक गर्ने अधिकार आफूहरूसँग नभएको बताए।

‘हामीले जे भेट्यौँ, त्यही लेखेर पठाएका छौँ,’ उनले भने, ‘प्रतिवेदनमा सहकारीको दुग्ध कारोबारबाहेक सम्पूर्ण वित्तीय कारोबारको हिसाबकिताब समावेश छ।’

करोडौं रकम हिनामिना गरेर फरार रहेका अध्यक्ष तिवारी र सचिव थापाविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरिसकेको छ। असार १७ गतेदेखि उनीहरू सम्पर्कविहीन छन्। यता, प्रहरीले सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई भने पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी कार्य तीव्रताका साथ जारी रहेको बताएका छन्।

‘हामी उहाँहरूलाई छिट्टै पक्राउ गर्न सफल हुनेमा विश्वस्त छौं’, उनले भने।

तर, बचतकर्ताहरूले भने प्रहरीले दोषीहरूलाई पक्राउ गर्न गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

यसैबीच, फरार अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीले आफ्नो पहलमा करिब ७ करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गराउने प्रस्ताव गरेकी थिइन्।

तर, उक्त प्रस्तावमा उनका जेठाजु हरि तिवारीले असहमति जनाएपछि प्रक्रिया अवरुद्ध भएको समन्वय समितिका एक सदस्यले जानकारी दिए।

साउन १५, २०८२ बिहीबार १३:०५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।