क्यान बैठक मुलपानीमा जारी : एनपीएलको हिसाबदेखि खेलाडी वर्गीकरणसम्मका अजेन्डा

क्यान बैठक मुलपानीमा जारी : एनपीएलको हिसाबदेखि खेलाडी वर्गीकरणसम्मका अजेन्डा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंको मुलपानीस्थित संघको केन्द्रीय कार्यालयमा जारी छ।

बिहान ९:०० बजेबाट सुरू भएको बैठकमा नेपाल प्रिमियर लिग (एनपीएल)को समीक्षा, आयव्ययको जानकारी र अनुमोदन, राष्ट्रिय खेलाडीहरूको वर्गीकरण, आगामी टी-२० विश्वकपको तयारी, र संघको वार्षिक साधारण सभा जस्ता एक दर्जनभन्दा बढी महत्त्वपूर्ण एजेन्डामाथि छलफल भइरहेको छ।

बैठकमा एनपीएलको आयव्ययको बारेमा अधिकांशको चासो छ।  गत संस्करणको एनपीएल सफलतापूर्वक सम्पन्न भए पनि त्यसको आर्थिक पारदर्शिता र व्यवस्थापनलाई लिएर विभिन्न प्रश्न उठेका थिए।

बैठकमा पहिलो संस्करणको आय-व्ययको विस्तृत जानकारी प्रस्तुत गरी त्यसलाई अनुमोदन गर्ने कार्यसूची छ। साथै, प्रतियोगिताको सफलता र कमजोरीको समीक्षा गर्दै दोस्रो संस्करणको तयारीका सम्बन्धमा गहन छलफल गर्ने एजेन्डा रहेको छ।

एनपीएल क्यानको सबैभन्दा ठूलो र महत्त्वाकांक्षी प्रतियोगिता भएकाले यसको आर्थिक पारदर्शिता र आगामी योजनालाई विशेष महत्त्वका साथ हेरिएको छ।

बैठकले राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीहरूको नयाँ वर्गीकरणको पुनरावलोकन गरी त्यसलाई अन्तिम रूप दिनेछ। खेलाडीहरूको प्रदर्शन र योगदानको मूल्याङ्कनका आधारमा गरिने यो वर्गीकरणले उनीहरूको पारिश्रमिक निर्धारण गर्दछ।

खेलाडीहरूको पारिश्रमिक यही वर्गीकरणमा निर्भर हुने भएकाले यो निर्णय निकै महत्त्वपूर्ण मानिन्छ। यसका साथै, संघका कर्मचारीहरूको करार सम्झौताको म्याद थप गर्ने विषयमा पनि बैठकले निर्णय गर्नेछ।

यसका अलावा बैठकमा आगामी टी-२० विश्वकप छनोटका लागि नेपालको अभियान र रणनीतिक योजनाबारे बैठकमा छलफल भइरहेको छ। विश्वकप तयारीका लागि आवश्यक पर्ने प्रशिक्षण, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू र बजेटको व्यवस्थापनबारे ठोस योजना बनाइनेछ।

त्यस्तै, सन् २०२६ का लागि आन्तरिक क्रिकेट प्रतियोगिताहरूको योजना तथा वार्षिक क्यालेन्डर निर्माण गर्ने एजेन्डा पनि रहेको छ, जसले घरेलु क्रिकेटलाई थप व्यवस्थित बनाउन मद्दत गर्नेछ।

बैठकका अन्य एजेन्डाहरूमा क्यानको विधान संशोधन, संघको वार्षिक साधारण सभाको मिति तय गर्ने, र जिल्ला क्रिकेट संघहरूको निर्वाचनको समयसीमा निर्धारण गर्ने जस्ता महत्त्वपूर्ण सांगठनिक विषयहरू समावेश छन्।

विशेषगरी, लामो समयदेखि विवादमा रहेको लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघमा उत्पन्न विवादको समाधान खोज्ने विषयलाई पनि कार्यसूचीमा राखिएको छ।

यसका साथै, आईसीसीबाट फुकुवा भएको बजेटको सही सदुपयोग र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिताका विषयमा पनि छलफल जारी छ।

साउन १५, २०८२ बिहीबार १२:१३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।