जेनेभा पुगेर सभामुखले भने- संसदको शक्ति शब्दमा मात्र होइन, डिजिटल पहुँच र जनविश्वासमा छ

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले डिजिटल प्रविधिले संसदीय अभ्यासमा ल्याएको परिवर्तनलाई आत्मसाथ गर्दै संसदको शक्ति अब परम्परागत शब्द र भाषणमा मात्र सीमित नभई नागरिकसम्मको डिजिटल पहुँच र उनीहरूको विश्वासमा टिकेको बताएका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा जारी संसद्का सभामुखहरूको छैटौं विश्व सम्मेलन अन्तर्गत ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका’ विषयक प्यानल छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले डिजिटल प्रविधिले संसदको कार्यसञ्चालनमा पारदर्शिता, कार्यकुशलता र जनसहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे।
नेपालको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले हाल निर्माण भइरहेको संघीय संसद भवनमा विधायन व्यवस्थापनलाई सहज बनाउन एआईको प्रयोगबारे अध्ययन भइरहेको जानकारी दिए।
‘नेपालमा हामी हाल कृत्रिम बुद्धिमत्ता र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम गरिरहेका छौँ,’ उनले भने, ‘मेसिन लर्निङ, डेटा सेन्टर र स्पीच-टु-टेक्स्ट जस्ता प्रविधिले संसद र जनताबीचको सम्बन्ध अझ बलियो बनाउन सक्छ।’
सामाजिक सञ्जालले सांसदहरूलाई नागरिकसँग सिधै जोड्ने अवसर दिए पनि गलत सूचना, भ्रमपूर्ण प्रचार र ‘डीप फेक’ जस्ता प्रविधिको दुरुपयोगले नयाँ चुनौतीहरू थपेको उनको भनाइ थियो।
उनले प्रविधिको प्रयोगसँगै डिजिटल साक्षरता प्रवर्द्धन गर्ने जिम्मेवारी पनि संसदहरूकै काँधमा रहेकोमा समेत जोड दिए।
सभामुख घिमिरेले डिजिटल पूर्वाधार, साइबर सुरक्षा र डेटा सुरक्षा जस्ता क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै अबको युग प्रविधिबिना अघि बढ्न नसक्ने स्पष्ट पारे।
साउन १५, २०८२ बिहीबार ११:५६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।