बारामा १४७ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

बारामा १४७ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

कलैया : बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको फेटा गाउँपालिका-१ भलुहीबाट २२ वर्षीय अजमुलहक अन्सारीलाई १४७ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित सोमबार दिउँसो पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार कलैयाबाट प्रसौनीतर्फ पैदल हिँडिरहेका अन्सारीलाई शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको हो।

प्रहरीले उनको साथबाट प्लाष्टिकको दुईवटा पोकामा लुकाएर राखेको अवस्थामा ६०० मिलिग्राम सुख्खा ब्राउन सुगर र १४६ ग्राम ५८० मिलिग्राम लेदो पदार्थ बरामद गरेको छ।

यो विशेष अपरेसनमा जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय प्रसौनी र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोली खटिएको थियो।

पक्राउ परेका अन्सारी बारा जिल्लाकै विश्रामपुर गाउँपालिका-१ घोडासहनका स्थायी बासिन्दा हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिई लागूऔषध ऐनअन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

साउन १५, २०८२ बिहीबार ११:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।