इरानसँग व्यापार गर्ने ६ भारतीयसहित २४ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

इरानसँग व्यापार गर्ने ६ भारतीयसहित २४ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी : अमेरिकाले इरानसँग प्रतिबन्धित रसायन तथा पेट्रोकेमिकल उत्पादन खरिद गरेको आरोपमा २४ वटा कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको छ, जसमा ६ वटा भारतीय कम्पनी पनि परेका छन्।

अमेरिकी विदेश मन्त्रालयले बुधबार घोषणा गरेको यो प्रतिबन्धले भारतबाहेक चीनका ७, संयुक्त अरब इमिरेट्स (युएई) का ६, हङकङका ३, तथा टर्की र रुसका एक-एक कम्पनीलाई पनि निशाना बनाएको छ।

मन्त्रालयका अनुसार यी कम्पनीहरूले अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्दै इरानबाट ठूलो परिमाणमा पेट्रोकेमिकल उत्पादनहरू आयात गरेका थिए। इरानले यस्तो व्यापारबाट प्राप्त आम्दानी आफ्नो आणविक कार्यक्रम विस्तार गर्न, मध्यपूर्वमा अस्थिरता फैलाउन र आतंकवादी संगठनहरूलाई आर्थिक सहयोग गर्न प्रयोग गरिरहेको अमेरिकाको आरोप छ।

प्रतिबन्धमा परेका भारतीय कम्पनीहरू
अमेरिकी प्रतिबन्धको सामना गर्ने ६ भारतीय कम्पनीहरूमा अल्केमिकल सोलुसन्स, ग्लोबल इन्डस्ट्रियल केमिकल्स, जुपिटर डाई केम, रमणिकलाल एस. गोसालिया एण्ड कम्पनी, पर्सिस्टेन्ट पेट्रोकेम र कञ्चन पोलिमर्स रहेका छन्।

अल्केमिकल सोलुसन्समाथि पछिल्लो एक वर्षमा ८ करोड ४० लाख डलरभन्दा बढीको इरानी पेट्रोकेमिकल आयात गरेको आरोप छ। ग्लोबल इन्डस्ट्रियल केमिकल्सले ५ करोड १० लाख डलरभन्दा बढीको इरानी मिथेनोल र अन्य उत्पादन खरिद गरेको आरोप छ।

जुपिटर डाई केमले करिब ४ करोड ९० लाख डलर बराबरको टोल्युइन लगायतका इरानी उत्पादनहरू आयात गरेको, रमणिकलाल एस. गोसालिया एण्ड कम्पनीले करिब २ करोड २० लाख डलर मूल्यको मिथेनोल र टोल्युइन जस्ता पेट्रोकेमिकल खरिद गरेको अमेरिकाले जनाएको छ।

यस्तै पर्सिस्टेन्ट पेट्रोकेमले १ करोड ४० लाख डलर बराबरको इरानी मेथानोल र  कञ्चन पोलिमर्सले १ करोड ३० लाख डलर बराबरको इरानी पोलिथिलीन उत्पादन खरिद गरेको आरोप लगाइएको छ।

प्रतिबन्धको असर के हुन्छ?
यी कम्पनीहरूको अमेरिकामा रहेका सबै सम्पत्ति र अमेरिकी नागरिक वा कम्पनीहरूसँगको कारोबार तुरुन्तै रोक्का गरिएको छ। कुनै पनि अमेरिकी व्यक्ति वा कम्पनीले यी प्रतिबन्धित संस्थाहरूसँग व्यापार गर्न पाउने छैनन्।

यसका साथै, यी कम्पनीहरूमा ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका अन्य सहायक कम्पनीहरू पनि स्वतः प्रतिबन्धको दायरामा पर्नेछन्। अमेरिकाले प्रतिबन्धको उद्देश्य सजाय दिनु नभई व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताएको छ।

प्रतिबन्धित कम्पनीहरूले चाहेमा प्रतिबन्ध फुकुवाका लागि अमेरिकी ट्रेजरी विभागमा आवेदन दिन सक्नेछन्।

फेब्रुअरीमा पनि लागेको थियो प्रतिबन्ध
यस वर्ष अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको यो दोस्रो पटक हो। गत फेब्रुअरीमा पनि ४ भारतीय कम्पनीहरूलाई इरानी पेट्रोलियम उत्पादनको बिक्री तथा ढुवानीमा मध्यस्थता गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो।

ती कम्पनीहरूमा फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई), बीएसएम मरीन एलएलपी (दिल्ली-एनसीआर), अस्टिनशिप म्यानेजमेन्ट प्रा.लि. (दिल्ली-एनसीआर) र कोसमोस लाइन्स इंक (तंजावुर) थिए। उनीहरूमाथि इरानी तेलको अवैध ढुवानी नेटवर्कमा संलग्न भएको आरोप थियो।

साउन १५, २०८२ बिहीबार ११:४३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।