भारतले सेमिफाइनल खेल्न अस्वीकार गरेपछि पाकिस्तान डब्लुसीएलको फाइनलमा, प्रायोजकले पनि हात उठायो

भारतले सेमिफाइनल खेल्न अस्वीकार गरेपछि पाकिस्तान डब्लुसीएलको फाइनलमा, प्रायोजकले पनि हात उठायो

एजेन्सी : पाकिस्तान अवकाशप्राप्त क्रिकेटरहरूको लागि आयोजना हुने प्रतियोगिता वर्ल्ड च्याम्पियनशिप अफ लेजेन्ड्स (डब्लुसीएल)को फाइनलमा पुगेको छ।

भारतले पाकिस्तानसँग सेमिफाइनल खेल खेल्न अस्वीकार गरेपछि पाकिस्तान स्वत: फाइनल प्रवेश गरेको हो। बुधबार राति अबेर डब्लुसीएलले यो जानकारी दिएको हो। यो खेल जुलाई ३१ मा इङ्गल्यान्डको बर्मिङ्घममा खेलिने तय भएको थियो।

यसअघि भारतीय खेलाडीहरूले जुलाई २० मा पाकिस्तानसँगको समूह खेल पनि खेलेका थिएनन्। त्यसपछि खेल रद्द गरियो र दुई टोलीबीच अंक बाँडफाँड गरियो।

तर, अब पाकिस्तानी टोली आफ्नो समूहमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ र चार जितसहित नौ अंक प्राप्त गरेको छ।

छ टोली सम्मिलित यस प्रतियोगितामा भारत चौथो स्थानमा रह्यो। टोलीले एक खेल जित्यो र तीन हार्यो, जबकि एक खेल बराबरीमा सकियो। पाकिस्तानले दोस्रो सेमिफाइनल (अष्ट्रेलिया वा दक्षिण अफ्रिका)को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

डब्लुसीएलले आफ्नो एक्स पोस्टमा लेखेको छ, ‘हामी सेमिफाइनलबाट फिर्ता हुने भारत च्याम्पियनको निर्णयको सम्मान गर्छौं र पाकिस्तान च्याम्पियनहरूको प्रतिस्पर्धा गर्न तयार रहेको निर्णयको पनि सम्मान गर्छौँ। सबै कारकहरूलाई ध्यानमा राख्दै, भारत च्याम्पियन र पाकिस्तान च्याम्पियन बीचको खेल रद्द गरिएको छ। पाकिस्तान च्याम्पियनहरू फाइनलमा जानेछन्।’

भारत बाहिरिएसँगै लिगको प्रायोजक कम्पनी ईसीमाइट्रिपले पनि बुधबार सेमिफाइनल खेलबाट प्रायोजन फिर्ता लिने घोषणा गरेको छ। कम्पनीका सह-संस्थापक निशान्त पिट्टीले एक पोस्टमा लेखेका थिए- ‘हामी डल्बुसीएलमा भारतको उत्कृष्ट प्रदर्शनको कदर गर्छौं। यद्यपि, पाकिस्तान विरुद्धको आगामी सेमिफाइनल कुनै साधारण खेल होइन। आतंकवाद र क्रिकेट सँगै चल्न सक्दैनन्।’

‘ईसीमाइट्रिप भारतको साथमा छ। हामी आतंकवादलाई प्रवर्द्धन गर्ने देशसँग सम्बन्ध सामान्यीकरण गर्ने कुनै पनि कार्यक्रमलाई समर्थन गर्न सक्दैनौँ। केही कुराहरू खेलकुद भन्दा ठूला हुन्छन्। पहिले देश, पछि व्यापार।’

साउन १५, २०८२ बिहीबार ११:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।