आफन्तबाटै बलात्कृत बालिका : न्याय माग्दा परिवार र समाजबाटै तिरस्कृत, पुर्नस्थापनामा सकस

सुर्खेत : गत माघ ११ गते रुकुमपश्चिममा एक ३६ वर्षीय बुवाले आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरे। पीडित बालिकाकी आमा वैदेशिक रोजगारीमा गएको मौका पारी ती बुवाले छोरीमाथि जघन्य अपराध गरेका थिए।
सुरूमा घटना गाउँमै मिलाउने प्रयास भयो। स्थानीय जनप्रतिनिधिदेखि परिवारका सदस्य र विदेशमा रहेकी आमाले समेत जाहेरी फिर्ता लिन र बयान फेर्न दबाब दिए। तर, ती बालिका आफ्नो अडानबाट पछि हटिनन् र गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा बुवाविरुद्ध जाहेरी दिइन्।
सोही दिन प्रहरीले आरोपितलाई पक्राउ गर्यो। फागुन २५ गते जिल्ला अदालतको आदेशले आरोपितलाई पुर्पक्षका लागि कारागार पठाइयो।
अहिले ती बालिका संरक्षणको पर्खाइमा छिन्। परिवार र आफन्तबाट अपहेलित उनी दिदी र भाइसहित बिचल्लीमा छिन्। हाल फुपुको संरक्षणमा रहेकी उनलाई कसैसँग सम्पर्क गर्न दिइएको छैन, जसकारण उनी गम्भीर मानसिक समस्यामा छिन्।
यस्तै, रुकुमपश्चिमकै १२ वर्षीया बालिकालाई गत असार ३ गते उनका ५२ वर्षीय बुवाले बलात्कार गरे। आमाको मृत्युपछि बुवाले दोस्रो विवाह गरेका थिए।
बालिकाले असार १० गते बुवाविरुद्ध जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गर्यो। साउन ५ गते अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। यो घटना पनि गाउँले र सौतेनी आमाले मिलाउन खोजेका थिए, तर बालिकाले मानिनन्। फलस्वरूप उनी अहिले छिमेकीको घरमा आश्रय लिन बाध्य छिन्।
रुकुमपश्चिमकै अर्की १४ वर्षीया बालिका भारतमा आफ्नै सौतेलो बुवाबाट बलात्कृत भइन्। आमाले दोस्रो विवाह गरेपछि उनी सौतेलो बुवासँगै बस्दै आएकी थिइन्। आमा र सौतेलो बुवा मजदुरीका लागि भारत गएका बेला उनी दुई वर्षसम्म बलात्कृत भइन्।
घटना थाहा पाएपछि आमाले एक महिनाअघि उनलाई नेपाल पठाएकी छन्। अहिले ती बालिका एक गैरसरकारी संस्थाको सहयोगमा उपचाररत छिन्, तर पीडक सौतेलो बुवाविरुद्ध अझै जाहेरी परेको छैन।
न्याय र पुनर्स्थापनामा चुनौती
अन्य व्यक्तिभन्दा परिवारकै सदस्यबाट बलात्कृत भएकाहरूलाई समाजमा पुनर्स्थापना गर्न निकै चुनौतीपूर्ण हुने एकद्वार संकट व्यवस्थापन केन्द्र रुकुमपश्चिमकी फोकल पर्सन प्रेमा केसी बताउँछिन्।
‘बुवा र आफन्तबाट बलात्कृत बालिकाहरूलाई पुनर्स्थापना गर्न र न्याय दिलाउन निकै कठिन हुन्छ,’ उनले भनिन्, ‘सामाजिक र राजनीतिक दबाबका कारण उनीहरूलाई न परिवारको साथ हुन्छ, न समाजको।’
केसीका अनुसार आमाको मृत्यु, सौतेनी आमाको आगमन वा आमा वैदेशिक रोजगारीमा गएको अवस्थामा यस्ता घटना बढी हुने गरेका छन् र पीडितहरू प्रहरीसम्म आउन चाहँदैनन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको तथ्याङ्कअनुसार गत पुसदेखि यस असारसम्म चारवटा बालिका बलात्कार र दुईवटा बाल यौन दुर्व्यवहारका घटना दर्ता भएका छन्। यी घटनामा तीन, नौ र पन्ध्र वर्षीया बालिकाहरू पीडित भएका छन् भने १४ वर्षीय बालकदेखि ६० वर्षीय पुरुषसम्म संलग्न छन्।
छिमेकीबाट समेत बालिकाहरू सुरक्षित नरहेको उदाहरण सल्यानको घटनाले देखाउँछ।
कालीमाटी गाउँपालिका-४ का ५८ वर्षीय इन्द्रबहादुर पुनले चार, पाँच र ६ वर्षीया तीन बालिकालाई पटक-पटक चकलेटको लोभ देखाई बलात्कार गरेको आरोपमा गत चैत १५ गते पक्राउ परे। गत वैशाख ८ गते जिल्ला अदालत सल्यानले उनलाई पुर्पक्षका लागि कारागार पठाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत पुसदेखि असारसम्म आठ बालिका बलात्कृत भएका छन् भने एक बालिका यौन दुर्व्यवहारको सिकार भएकी छन्। पीडित तीनदेखि १२ वर्षसम्मका छन् भने पीडक १९ देखि ६५ वर्षसम्मका पुरुष छन्।
पीडितलाई नै दोषी देख्ने समाज
पीडितलाई नै दोषी ठान्ने सामाजिक प्रवृत्तिका कारण बलात्कृत बालिकाहरूलाई पुनःस्थापित गर्न समस्या भएको महिला अधिकारकर्मी तथा आवाज संस्थाकी निर्देशक पवित्रा शाही बताउँछिन्।
‘बलात्कृत बालिकालाई समाजमा पुनःस्थापना गर्नु सबैभन्दा चुनौतीपूर्ण पाटो हो। समाजले पीडितलाई हौसला दिनुको सट्टा आरोप लगाउँछ र घृणा गर्छ, जसले बालिकाको मानसिक अवस्था झन् कमजोर बनाउँछ,’ उनी भन्छिन्, ‘पुनर्स्थापनाको बाटोमा सबैभन्दा ठूलो अवरोध सामाजिक धारणा नै हो। पीडितको सुरक्षा, स्वास्थ्य, मनोपरामर्श, न्याय र शिक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो।’
तीन वर्षमा ३५३ बालिका बलात्कृत
कर्णाली प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षमा ३५३ बालिका बलात्कारको सिकार भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा १३८, आर्थिक वर्ष २०८०/८१ मा ११९ र आर्थिक वर्ष २०८१/८२ मा ९६ जना बालिका बलात्कृत भएका छन्। यस अवधिमा ३९ जना बालिका आफन्तबाटै र ३१४ जना अन्य व्यक्तिबाट बलात्कृत भएका छन्।
साउन १५, २०८२ बिहीबार १०:०३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।