पोखराको १३५ रोपनी प्रकरणमा जोडिएका मालपोत प्रमुख चिरञ्जीवीले बिचौलियालाई किनाउँथे प्लेन टिकट

काठमाडौं : पोखराको १ सय ३५ रोपनी जग्गा घोटालामा जोडिएका मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जीवी पौडेलले अदालतको फैसलाअनुसार शाह परिवारको नाममा जग्गा ल्याइदिने भन्दै सक्रिय बिचौलिया समूहको हवाई टिकटमा पोखरा-काठमाडौं ओहोरदोहोर गर्ने गरेको खुलेको छ।
उकेराले प्राप्त गरेको विवरणमा उनलाई सो जग्गा दुर्गादेवी शाहको हकवालाको नाममा ल्याएर विभिन्न व्यक्तिको नाममा पास गराउन सक्रिय समूहले पोखरा-काठमाडौं आवतजावत गर्न प्लेनको टिकट काटिदिने गरेको देखिन्छ।
जिल्ला हुँदै सर्वोच्च अदालतबाट २०३१ सालमै पोखराको बाटुलेचौरमा रहेको विवादित जग्गामध्ये नक्सा नम्बर २५, २६, २८ शाहको नाममा कायम गर्न फैसला गरेको थियो। तर २०३२ को नापिमा ती जग्गाहरू अरुकै नाममा कायम भएको भन्दै हालसम्म ती जग्गाहरू शाहको वारेसको नाममा आएको छैन।
अदालतको आदेश अनुसार आफ्नो नाममा आउनुपर्ने जग्गा मालपोत कार्यालय र नापी कार्यालयले विभिन्न बहाना बनाएर पास नगरिदिएपछि शाह परिवारका वारेसहरू बिचौलियाको शरणमा पुगेका थिए।
बिचौलिया समूहले १३५ रोपनी जग्गा शाह परिवारको नाममा आएका त्यसबापत विभिन्न व्यक्तिको नाममा जग्गाहरू दिनुपर्ने सर्तमा मन्त्रीदेखि मालपोतका कर्मचारीसम्मलाई मिलाउने जिम्मेवारी लिएका थिए।
सोही प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधारमन्त्री बलराम अधिकारी र पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठसहित तत्कालीन सचिव अर्जुन र अधिकारीका छोरा मनोज अधिकारीसम्म जोडिए।
गुप्ताले मन्त्री पदबाट राजीनामा दिए। रञ्जितालाई पार्टीले कारबाही गरेर नागरिक उन्मुक्ति पार्टीको अध्यक्षबाट हटायो। बलराम र सचिवमाथि कुनै कारबाही भएको छैन। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
चार पटक किनाए प्लेन टिकट
स्रोतबाट प्राप्त विवरणमा मालपोतका तत्कालीन प्रमुख पौडेलले चार पटक पोखरा-काठमाडौंको हवाई यात्रा गर्न बिचौलिया समूहलाई हवाई टिकट किन्न लगाएको देखिन्छ।
उनको नाममा २०८१ को मंसिर, पुस र माघ पोखरा-काठमाडौं आवतजावत गर्न प्लेनको टिकट किनेको देखिन्छ। उकेराले प्राप्त गरेको टिकटमा उनको नाममा सन् २०२४ नोभेम्बर १३, २०२५ डिसेम्बर २५ र २०२५ को जनवरी ६ मा टिकट किनेको देखिन्छ।
पौडेलको नाममा किनेको हवाई टिकटको विवरण अख्तियारले समेत प्राप्त गरिसकेको छ। उनी प्रारम्भदेखि नै यो जग्गा प्रकरणमा जोडिएका छन्। टिकटको विवरण दियोपोस्टले समेत सार्वजनिक गरेको छ।
लामासँग पूरक बयान लिँदै अख्तियार
अख्तियारले यसअघि नै तत्कालीन मन्त्री गुप्ता, जग्गा प्रकरणमा जोडिएका सुजन लामा र रञ्जितासँग बयान लिइसकेको छ।
गुप्ता र रञ्जिताको बयान एकै दिनमा सके पनि अख्तियारले सुजनलाई पाँच दिन नियन्त्रणमा राखेर बयान गरेको थियो। अख्तियारले लामालाई पूरक बयानका लागि पुन काठमाडौँ बोलाएको स्रोतले उकेरालाई बतायो।
अख्तियारले मन्त्री बलराम अधिकारी, सचिव, मन्त्री अधिकारीका छोरालाई भने बयानमा बोलाएको छैन। घुस प्रकरणमा जोडिएका अन्य व्यक्तिहरू समेत छानबिनको दायरामा आएका छैनन्।
सम्बन्धित समाचार
साउन १५, २०८२ बिहीबार ०९:१४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।