बागमती प्रदेश प्रमुख अस्वस्थ, मन्त्रीहरूको सपथ ग्रहण रोकियो

बागमती प्रदेश प्रमुख अस्वस्थ, मन्त्रीहरूको सपथ ग्रहण रोकियो

हेटौंडा : बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउँसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौं जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो।

सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।

नेपाली कांग्रेसको प्रदेश संसदीय दलको नेताबाट हटेसँगै नयाँ संसदीय दलका नेता इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण गर्नुपर्नेमा मुख्यमन्त्री बहादुरसिंह लामाले सत्ता टिकाउनका लागि तीन नयाँ मन्त्री नियुक्त गर्न लागेका थिए।

तर, प्रदेश प्रमुख अस्वस्थ भएको खबरसँगै अब मन्त्री नियुक्तिको प्रक्रियासमेत रोकिएको छ।

बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलोका कारण सरकारले आफ्नो गतिमा काम गर्न पाएको छैन। बानियाँ नेपाली कांग्रेसको प्रदेश सभापति हुन् भने मुख्यमन्त्री लामाले प्रदेश अधिवेशनमा उनलाई टक्कर दिएका थिए।

यद्यपि नयाँ सरकार गठनको क्रममा बानियाँले लामालाई मुख्यमन्त्रीको रूपमा अघि सारेका थिए।

साउन १५, २०८२ बिहीबार ०९:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।