भारतमाथि ट्रम्पको ‘ट्यारिफ बम’, रुससँगको सम्बन्धलाई कारण देखाउँदै थप २५ प्रतिशत कर लगाउने घोषणा

भारतमाथि ट्रम्पको ‘ट्यारिफ बम’, रुससँगको सम्बन्धलाई कारण देखाउँदै थप २५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमाथि २५ प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै ट्रम्पले आगामी अगस्ट १ देखि यो निर्णय लागू हुने बताएका हुन्।

यसअघि ट्रम्पले विश्वका धेरै देशहरूमाथि ट्यारिफ लगाउने घोषणा गरे पनि व्यापार सम्झौताका लागि वार्ता गर्न भन्दै त्यसलाई रोकेका थिए। उनले व्यापार सम्झौतामा सहमति जुटाउन अगस्ट १ को समयसीमा तोकेका थिए। भारत र अमेरिकाबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको थियो, तर कुनै निष्कर्ष निस्किन सकेको थिएन।

समयसीमा सकिनुभन्दा ठीक दुई दिनअघि ट्रम्पले भारतमाथि भारी कर लगाउने घोषणा गरेका हुन्।

ट्रम्पले के भने?
आफ्नो पोस्टमा ट्रम्पले भारत र अमेरिका मित्र भए पनि भारतले लगाएको उच्च करका कारण व्यापार सम्बन्ध कमजोर भएको बताएका छन्। उनका अनुसार भारतले लगाउने कर विश्वमै सबैभन्दा बढी छ।

ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘भारतसँग कुनै पनि देशको तुलनामा सबैभन्दा कडा र गैर-आर्थिक व्यापार प्रतिबन्धहरू छन्। यसका साथै, उसले रुसबाट ठूलो परिमाणमा सैन्य सामग्री खरिद गरिरहेको छ। सबैले रुसले युक्रेनमा नरसंहार बन्द गरोस् भन्ने चाहेका बेला, भारत भने चीनसँगै रुसबाट ऊर्जा खरिद गर्ने सबैभन्दा ठूलो ग्राहक बनेको छ।’

ट्रम्पले थपे, ‘यी सबै कुराहरू राम्रा होइनन्। भारतले यी सबैका लागि जरिवानास्वरूप २५ प्रतिशतको ट्यारिफ तिर्नुपर्नेछ, जुन अगस्ट १ देखि सुरू हुनेछ। यस विषयमा तपाईंको ध्यानाकर्षणका लागि धन्यवाद, मेक अमेरिका ग्रेट अगेन।’

भारत सरकारको प्रतिक्रिया
ट्रम्पको घोषणापछि भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपतिको बयानलाई आफूहरूले जानकारीमा लिएको बताएको छ।

मन्त्रालयले भनेको छ, ‘सरकारले यसको सम्भावित प्रभावबारे अध्ययन गरिरहेको छ। भारत र अमेरिकाबीच निष्पक्ष, सन्तुलित र दुवैलाई फाइदा हुने व्यापार सम्झौताका लागि केही महिनादेखि वार्ता चलिरहेको छ। हामी यो उद्देश्यप्रति प्रतिबद्ध छौं।’

भारतमा राजनीतिक प्रतिक्रिया
ट्रम्पको घोषणापछि भारतीय विपक्षी दल कांग्रेसले मोदी सरकारको विदेश नीतिमाथि प्रश्न उठाएको छ।

कांग्रेसले आफ्नो ‘एक्स’ ह्यान्डलमा लेखेको छ, ‘ट्रम्पले भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाए, साथै जरिवाना पनि। नरेन्द्र मोदीले ट्रम्पका लागि ‘अबकी बार ट्रम्प सरकार’ जस्ता नारा लगाउँदै प्रचार गरे। उनलाई भाइ जसरी अँगालो हाले। बदलामा ट्रम्पले भारतमाथि यति कडा ट्यारिफ लगाए। यो सरकारको विदेश नीतिको गम्भीर असफलता हो। एक व्यक्तिको मित्रताको मूल्य पूरै देशले चुकाउनु परिरहेको छ।’

यसैबीच, भारतीय जनता पार्टी (भाजपा) का सांसद अशोक चह्वाणले भनेका छन्, ‘मलाई लाग्दैन कि राष्ट्रपति ट्रम्पको यो निर्णय कुनै आपसी छलफलपछि लिइएको हो। हाम्रा वाणिज्य मन्त्री अमेरिकी प्रशासनसँग निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो। भारतलाई कुनै किसिमको नोक्सान नहोस् भनेर यस विषयमा अपील वा थप छलफलको मागलाई स्वीकार गरिनुपर्छ।’

ट्यारिफ के हो?
ट्यारिफ एक प्रकारको कर हो जुन अन्य देशबाट आयात गरिने सामानमा लगाइन्छ। सामान्यतया, देशहरूले आफ्ना घरेलु उद्योगहरूलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन यस्तो कर लगाउने गर्छन्।

उदाहरणका लागि, १० प्रतिशत आधारभूत ट्यारिफको अर्थ हो, १० डलरको उत्पादनमा १ डलर कर लाग्नेछ, जसले गर्दा आयातकर्ताका लागि कुल लागत ११ डलर पुग्छ। अमेरिकामा विदेशी सामान ल्याउने कम्पनीहरूले यो कर सरकारलाई तिर्नुपर्छ। कम्पनीहरूले यो अतिरिक्त लागतको भार ग्राहकमाथि थप्न सक्छन् वा आयात घटाउने निर्णय पनि गर्न सक्छन्।

डोनाल्ड ट्रम्पले यदि कुनै देशले अमेरिकी सामानमा धेरै आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा उति नै कर लगाउने नीति लिएका छन्। यसलाई उनले ‘पारस्परिक ट्यारिफ’ को नाम दिएका छन्।

साउन १५, २०८२ बिहीबार ०८:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।