कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला : राष्ट्र बैंकका अधिकृत सहित १०९ जनाविरुद्ध मुद्दा दर्ता

कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला : राष्ट्र बैंकका अधिकृत सहित १०९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं : कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको वित्तीय अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

बाँके जिल्ला सरकारी वकिल कार्यालयले बुधवार दुई जना मृतकसहित १०९ जनालाई प्रतिवादी बनाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको उक्त मुद्दामा हालसम्म चार जना मात्र पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र, प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका तत्कालीन अनुगमन अधिकृत भुवन बस्नेत रहेका छन्। बाँकी प्रतिवादीहरू फरार छन्।

१३ शीर्षकमा अपचलन
अनुसन्धान अनुसार, बैंकका सञ्चालकदेखि कर्मचारीसम्मको मिलेमतोमा कूल ३ अर्ब २० करोड ११ लाख ५४ हजार रुपैयाँ अपचलन गरिएको छ। अनियमितता मुख्यतः निम्न दुई माध्यमबाट गरिएको थियो:

-ऋण प्रवाह र पुनः खडा गरी १ अर्ब ७९ करोड ५० लाख रुपैयाँभन्दा बढी अपचलन।

-अन्य बैंकबाट ल्याउनुपर्ने नगद नल्याई १ अर्ब ११ करोड ९१ लाख रुपैयाँभन्दा बढी अपचलन।

एक समूहद्वारा सुनियोजित षड्यन्त्र
२०६० साल फागुन २२ गते राजेन्द्रवीर राय, पशुपति दयाल मिश्रलगायतले स्थापना गरेको यस बैंकमा प्रारम्भिक पुँजी दुई करोड थियो।

पछि चुक्ता पुँजी ५० करोड पुर्याउने क्रममा संस्थापक खोज्न नसकिएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति नपाइने भएपछि आफू अनुकूलका व्यक्ति भित्र्याएर रकम अपचलन गर्न थालिएको रायले बयान दिएका छन्।

उनका अनुसार, मौखिक सहमति अनुसार बैंकको रकम आफ्नो, मिश्र, शाह, रावत, थापा आदिले व्यक्तिगत कार्यमा खर्च गर्ने र सार्वजनिक नगर्ने सहमति थियो।

नाम चलेका कम्पनीमार्फत अपचलन
रायसहितका व्यक्तिहरूले विभिन्न कम्पनीको नाममा प्रवाह भएको कर्जा आफैँले प्रयोग गरेको प्रमाण भेटिएको छ:

-हिल्सा इन्भेस्टमेन्टबाट प्रवाह भएको १५ करोडमध्ये १२ करोड रायले, बाँकी रावत र शाहले अपचलन गरे।

-राप्ती पोलिमर्समा १२ करोड रायले, बाँकी रावत र उनका भिनाजु महेशजंग थापाले।

-बाँके केमिकल्सबाट ८ करोड रावत, ७ करोड रायले प्रयोग गरे।

-तिलक विक समूहलाई कर्जा बिक्री गर्दा ३ करोड ५० लाख अपचलन भयो।

किर्ते कागजात, डमी चेक र फर्जी ब्यालेन्स
अनुसन्धान अनुसार, बैंकको खातामा मौज्दातभन्दा बढी देखाउन किर्ते ब्यालेन्स सिट बनाइन्थ्यो।

भल्टबाट नगद निकालेर व्यक्तिगत रूपमा प्रयोग गर्दा डमी चेक दिइन्थ्यो। सीआईबीले प्रमाणित गरेको तथ्यअनुसार बैंकको मौज्दात, नगद अनुपात र लेखापरीक्षणका दस्ताबेजहरू पनि बनावटी थिए।

राजेन्द्रवीर रायका अनुसार, अवकाशपछि पनि संस्थाको अपचलन बाहिर आउन नदिन उनलाई कार्यकारी प्रमुख बनाइएको थियो। त्यसपछि दिनेशकुमार रावतजस्ता अपात्र व्यक्तिहरू पनि कार्यकारी पदमा पुगे।

रकम कहाँ कहाँ लगानी गरियो ?
अनियमित रूपमा अपचलन भएको रकम कहाँ लगानी गरियो भन्नेबारे पनि अभियुक्तहरूले बयान दिएका छन्।

अपचलन रकमबाट खरिद गरिएका सम्पत्ति जफत गर्नसमेत अभियोग पत्रमा माग गरिएको छ।

मुद्दामा प्रतिवादीहरूमाथि अपचलनको बिगो अनुसार १ वर्षदेखि १२ वर्षसम्मको कैद सजाय र बराबरको जरिवाना र रकम फिर्ता गराउने माग गरिएको छ।

साउन १५, २०८२ बिहीबार ०८:०२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।