कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा चार स्वास्थ्य प्रतिष्ठान उपकुलपतिहीन, पोखरा नछाड्ने स्वास्थ्यमन्त्रीको अडानमा खगराज बाधक

कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा चार स्वास्थ्य प्रतिष्ठान उपकुलपतिहीन, पोखरा नछाड्ने स्वास्थ्यमन्त्रीको अडानमा खगराज बाधक

काठमाडौं: स्वास्थ्य मन्त्रालय अन्तर्गतको चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन महिनादेखि नेतृत्वहीन छ। सत्ताधारी दुई दल एमाले र नेपाली कांग्रेसबी उपकुलपतिमा भागबन्डा नमिल्दा चयन समिति गठन भए पनि नियुक्ति हुन सकेको छैन।

असार पहिलो सातामै मन्त्रालयले उपकुलपति चयनका लागि सर्च कमिटी गठन गरेको थियो। असार ४ मा निस्किएको सूचना अनुसार चार प्रतिष्ठानमा उपकुलपति हुन चाहने चिकित्सकहरूले आवेदन समेत दिइसके। तर पोखरा र वीपी कोइराला क्यान्सरमा कुन दलको सिफारिसका चिकित्सकलाई उपकुलपति बनाउने भन्ने सहमति हुन नसक्दा नियुक्ति हुन सकेको छैन।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पद गत चैत तेस्रो साता खाली भयो। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको पद गत चैत अन्तिममा खाली भएको थियो।

हाल बीपी कोइराला प्रतिष्ठानमा रेक्टर डा. सञ्जीव कुमार शर्मा, कर्णालीमा रेक्टर डा. डबल बहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ। पाटनमा रेक्टर डा. पवन कुमार शर्मा र पोखरामा डा. भरत बहादुर खत्रीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।

उपकुलपतिको सिफारिसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको पनि डेढ महिना बितिसकेको छ। उपकुलपतिको सिफारिसका लागि बनेको सिफारिस समितिमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा सदस्य छन्। यो समितिले ‘सर्टलिष्ट’ गरेर रिक्त रहेका उपकुलपति नियुक्तिका लागि ३-३ जनाको नाम सिफारिस गर्नुपर्ने हो। तर सकेको छैन।

किन रोकियो सिफारिस ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सिफारिस समितिमा भएका तीन जनाको व्यस्तता लगायतको कारण एकै पटक भेट हुने समय नमिलेर उपकुलपतिको नियुक्ति प्रक्रियामा ढिला भएको दाबी गरे।

‘कहिले योजना आयोगको सदस्यज्यू बाहिर, कहिले मन्त्रीज्यूको मिलेन,’प्रवक्ता बुढाथोकीले भने,‘अहिले सचिवज्यू हुनुहुन्न।’ ब्राजिल पुगेका स्वास्थ्य सचिव आइतबार आउने तालिका रहेको उनले बताए।

अर्कातर्फ उपकुलपतिको उम्मेद्वारहरुको योग्यताको प्रमाणपत्र लगायतको अध्ययनका लागि समेत समय लाग्ने भएकाले ढिला भएको प्रवक्ता डा. बुढाथोकीको भनाई छ। तर, अब भने चाँडै नै उम्मेद्वारहरुको छनोट र सिफारिस प्रक्रिया हुने उनले बताए।

मुख्य कारण पोखरा र वीपी

चार प्रतिष्ठानमध्ये दुई वटामा सत्तारुढ दल नेपाली कांग्रेस र दुई वटा एमालेको भागमा परे पनि कुन प्रतिष्ठान कांग्रेस र कुन प्रतिष्ठान एमालेले लिने भन्ने सहमति हुन सकेको छैन। यसैले उपकुलपति नियुक्ति रोकिएको छ।

 ‘सत्तारुढ दलहरूमा कहाँको भिसी कसको भन्ने अझै फाइनल भएको छैन,’स्रोतले भन्यो,‘मोटामोटी दुई ठाउँ कांग्रेस र दुई ठाउँ एमालेको भागमा छ।’

जानकारका अनुसार सुरुमा कर्णाली र धरानको उपकुलपति नियुक्तिको भाग कांग्रेसलाई दिने सहमति भएको थियो। अनि पाटन र पोखरा एमालेले लिने सहमति भएको थियो। तर पछि स्वास्थ्यमन्त्री पौडेलले पोखरा छाड्न नहुने अडान लिएपछि नियुक्ति नै अड्किएको छ।

‘मोटामोटी धरान कांग्रेसलाई अनि पाटन एमालेलाई  भन्ने छ,’स्रोतले भन्यो,‘तर, पोखरा एमालेले पनि छोड्न खोजेको छैन, स्वास्थ्य मन्त्रीले पनि छोड्न खोज्नु भएको छैन।’

जानकारस्रोतका अनुसार मन्त्री पौडेल पोखरा लिएर वीपी छाड्न तयार छन्। तर पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतरका नेता शेखर कोइराला दुवै वीपीको उपकुलपति आफ्नै दलको सिफारिसमा हुनुपर्ने पक्षमा छन्। तर एमालेले पोखराको उपकुलपति छाड्न चाहेको छैन। यसका लागि एमालेबाट खगराज अधिकारी नै सक्रिय रहेको विश्वस्त स्रोतले बतायो।

को-को छन् प्रतिस्पर्धामा ?

चार उपकुलपति रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ जनाको आवेदन परेको छ। डा अरुणकुमार सिंहले कुनै प्रतिष्ठान नखुलाई आवेदन दिएका छन्। पाटनमा १०, कर्णालीमा १४, पोखरामा १७ र धरानको वीपी प्रतिष्ठानको उपकुलपतिका लागि भने १३ जनाले आवेदन दिएका छन्।

मुख्य समस्या देखिएको वीपीका १३ जना आवेदकमध्ये कांग्रेसबाट डा रामेश कोइराला, डा संगीता सिंह भण्डारी, डा रोशन पोखरेल र डा प्रह्लाद कार्की प्रतिस्पर्धामा देखिन्छन्। एमालेबाट खासै प्रतिस्पर्धी देखिएको छैन। प्रारम्भमा डा रोशन पक्कापक्की देखिए पनि पछिल्लो समय डा रामेश, संगीता र प्रह्लादको बलियो बनेको जानकारस्रोतले बतायो।

१७ जनाको आवेदन परेको पोखरामा डा रामेशसमेत छन्। डा विधाननिधी पौडेल, डा राजेश अधिकारी, डा प्रेमराज ज्ञवाली, डा श्रीकृष्ण श्रेष्ठ, चण्डिका पण्डित र अहिलेका निमित्त भरतबहादुर खत्री लगायतकाले आवेदन दिएका छन्। एमालेले पोखरा कुनै हालतमा नछाड्ने सन्देश दिइसकेको स्रोतले बतायो। तर कसलाई नियुक्त गर्ने भन्ने नाम खुलाइसकेको छैन।

‘पोखरामा खगराजजीले जसलाई चाह्यो त्यही उपकुलपति नियुक्त हुने हो,’ स्रोतले भन्यो।

उता कर्णालीमा १४ जानको आवेदन परेको छ। कर्णाली कांग्रेसको भागमा परेको छ। त्यहाँ कुन दलको भन्ने विवाद देखिएन। कर्णालीमा कांग्रेसको तर्फबाट पूजन कुमार रोकायालाई उपकुलपति बनाउन कांग्रेसको क्षत्रिय सभापतिहरूसहित आएर पार्टी नेतृत्वसँग भेट गरिसकेका छन्।

कर्णालीको उपकुलपति बन्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशक रहेका डा पवनजंग रायमाझी समेत प्रतिस्पर्धामा देखिए। मन्त्री पौडेल निकट उनी विभागबाट मिलेमतोमा भएको खरिदमा परेका व्यक्ति हुन्। अर्का डा डबल बहादुर धामी, गेटा अस्पताल प्रमुख डा प्रमोदकुमार यादव, चिकित्सक शिक्षा आयोगका पूर्व उपाध्यक्ष डा श्रीकृष्ण गिरी लगायतले आवेदन दिएका छन्।

पाटनमा १० जनाले आवेदन दिएका छन्। डा गेहनाथ बराल, डा संगीता सिंह भण्डारी, बुद्धिप्रसाद पौडेल, पवनकुमार शर्मा र दीपेन्द्ररमण सिंह लगायतले आवेदन दिएका छन्। पाटन एमालेको भागमा परेमा गेहनाथको सम्भावना बलियो रहेको स्रोतले दाबी गर्यो।

साउन १४, २०८२ बुधबार २२:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।