भोटेकोशीको दोस्रो बाढीमा मानवीय क्षति रोकियो, सडक मार्ग र त्रिशूली जलविद्युतमा क्षति

काठमाडौं : चीनबाट भोटेकोशीमा आएको बाढीका कारण नेपाल-चीनको सीमा रसुवा नाकाको ५ सय ४० मिटर सडक क्षेत्रमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार साउन १४ मा आएको बाढीबाट अस्थायी रूपमा सञ्चालनमा आएको स्याफ्रुवेशी-रसुवागढी सडक खण्ड, मेदामुदुङ, कुलुङ, लिडलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्ट नजिक गरेर ८ स्थानमा करिब ५ सय ४० मिटर क्षति पुगेर पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्याफ्रुवेशी-दोभान सडक खण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजना प्लाण्ट नजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको छ। बाढीले गोसाईंकुण्ड गाउँपालिका २ टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको र यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटा समेत बगाएको छ।
स्थानीय प्रशासनका अनुसार बाढीले गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेस्थित भन्सार यार्डको पारी पट्टी रसुवागढी जलविद्युत आयोजनाको आवास क्याम्पको वर्कसपमा असार २४ मा बसेको बाढीले बालुवामा पुरिएको अवस्थामा रहेका दुईवटा पिकअप बाढीले बगाएको छ।
गोसाईंकुण्ड गाउँपालिका-२ तातोपानीस्थित भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका-१ र उत्तरगया गाउँपालिका-१ जोड्ने त्रिशूली नदीमा अवस्थित पक्की पुलको दुवै तर्फको प्रोटेक्सन ग्याबिन/वाल बाढीका कारण भत्किएको छ। स्थानीय प्रशासनका अनुसार दुवै पुल जोखिममा छ।
२०८२ असार २४ को बाढीबाट प्रभावित भएका त्रिशूली थ्रीए जलविद्युत आयोजना र त्रिशूली थ्रीबी आयोजनाको हब स्टेसनमा बुधवारको बाढीले थप क्षति पुगेको छ। सो बाढीले कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
साउन १४, २०८२ बुधबार २२:११:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।