मस्त निन्द्रामा मन्त्रीहरू : मनोचिकित्सकलाई प्रश्न, जहाँ बस्यो त्यहीँ निदाउनुको कारण के हो ?

मस्त निन्द्रामा मन्त्रीहरू : मनोचिकित्सकलाई प्रश्न, जहाँ बस्यो त्यहीँ निदाउनुको कारण के हो ?

काठमाडौं : साउन ९ गतेको प्रतिनिधि सभाको बैठकमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ संसद् बैठकमा मस्त निदाइरहेको अनि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमस्कार गरिरहेको तस्बिर चर्चित भयो। संसद् बैठकमा प्रधानमन्त्री ओली आइरहँदा मन्त्रीहरू बस्ने कुर्सीको लहरमा बसेका गुरुङ चिउँडामा हात राखेर मस्त निदाइरहेका थिए भने प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै नमस्कार गरिरहेका थिए।

बुधवार उस्तै घटना दोहोरियो राष्ट्रिय सभाको बैठकमा। राष्ट्रिय सभाको बैठकमा एक जना हैन, प्रधानमन्त्री ओलीसँगै लहरै बसेका तीन मन्त्री मस्त निदाए। उमेरमा घुर्दै निदाइरहेका मन्त्रीभन्दा पाका प्रधानमन्त्री टाठो भएर राष्ट्रिय सभामा भइरहेको छलफल सुनिरहँदा अर्थमन्त्री विष्णु पौडेल पुरै मुन्टै झारेर मस्त निदाइरहेका थिए।

पौडेलसँगै थिए खेलकुदमन्त्री तेजुलाल चौधरी। उनको मुन्टो ठाडै थियो। तर निदाएका थिए। तेस्रो रक्षामन्त्री मानबहादुर राई पनि मस्त निदाइ रहेका थिए।

बुधवार राष्ट्रिय सभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नतिको अवस्थाबारे छलफल चलिरहेको थियो। राष्ट्रिय सभाका सांसदहरू सक्रिय रूपमा छलफलमा सहभागी थिए। तर संसद्मा बहस सुन्न सरकारको तर्फबाट सहभागी तीन मन्त्री मस्त निन्द्रामा थिए।

जहाँ बस्यो त्यहीँ किन निन्द्रा लाग्छ?

जहाँ बस्यो त्यहीँ किन निन्द्रा लाग्छ वा मन्त्रीहरू यसरी संसद् भवनमा किन मस्त निदाएका हुन्? यसको कारण के हुनसक्छ? उकेराले यसबारे विज्ञहरूसँग जिज्ञासा राख्दा यसको कारण स्वास्थ्य अवस्था, मनोविज्ञान र बसेको स्थानको वातावरणका कारण मान्छेहरू अस्वाभाविक रूपमा निदाउने गरेको खुल्यो।

मनोचिकित्सक डा अनन्त अधिकारी यसमा स्वास्थ्य, मनोविज्ञान र बसेको स्थानमा भइरहेको विषयको गम्भीर कारण हुने बताउँछन्। राती राम्रोसँग निन्द्रा नपर्नु, स्लिप अप्निया भएका बिरामी, राती घुरेर सुत्नेहरू, मोटोपन भएका र उमेरका हिसाबले पनि जहाँ बस्यो निन्द्रा लाग्ने वा निदाउने समस्या हुने उनले बताए।

‘कुनै औषधी सेवन गरिरहेका, तनावपूर्ण जीवनशैली भएका र स्लिप साइकल बिग्रिएको अवस्थामा पनि यस्तो हुनसक्छ,’ उनले उकेरासँग भने ‘कहिलेकाहीँ चैँ बहस वा छलफल भइरहेको स्थानको अवस्था अल्छीलाग्दो भयो भने पनि त्यसले निन्द्रा ल्याउन सक्छ।’

थकान भएपछि शरीरले मेलाटोन नामको हार्मोन उत्पादन गर्छ। त्यसले  जहाँ केही समय स्थिर बस्दा शरीरले विश्रामको सन्देश दिने र त्यसले निन्द्रा लगाउने समस्या देखियो। अर्कोमा राती राम्रो निद्रा नपर्नु पनि कारण देखियो। मोबाइल, स्क्रिनमा बढी समय बिताउने, अत्यधिक कफी र मदिराले निद्रामा असर पार्दा निन्द्रा खलबलिँदा व्यक्ति सहज ठाउँ पाउँदा निदाउन थाल्छ।

स्वास्थ्य समस्यामा मानसिक तनाव र डिप्रेसनले व्यक्तिलाई थकित बनाउने र उनीहरू जुनसुकै स्थानमा निदाउने समस्या देखियो। थाएन्टिहिस्टामिन, पेनकिलर, ट्रान्क्विलाइजरजस्ता औषधि खाइरहेकाहरू पनि जहाँ पनि निदाउने देखियो।

साउन १४, २०८२ बुधबार २१:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।