चौथो अंग : ‘अनलाइनले पाठक घटायो भन्ने बहाना मात्र हो, कन्टेन्ट सुधारे अझैँ पनि पत्रिका किन्ने ग्राहक टन्नै छन्’

दैनिक पत्रिका, साप्ताहिक पत्रिका र म्यागेजिनहरू प्रेसमा छापिएर आउँथे। बिहान पौने ४ बजे न्यूरोड पिपलबोटदेखि दमकल भएको गल्लीसम्म भिडभाड भइसक्थ्यो। विक्रेताको हातमा पत्रिका परेपछि थोक विक्रेता र हकरहरू गरेर ४ सय २० जना भन्दा बढी जम्मा भइसक्थे।
थोक विक्रेताले पसल मार्फत बेच्थे। २ सय ५० जना हकरहरूले पत्रिकाका हेडलाइन पढेर काँधमाथि पत्रिका राखेर बजार डुल्दै पत्रिका बेच्थे। एउटै पत्रिका ५० हजार प्रतिसम्म बिक्री गरेको रेकर्ड छ। अनि पत्रिकाको लेख फोटोकपी गरेर ५ सय प्रति बिक्री भएको रेकर्ड छ।
तर अब त्यो समय रहेन। २५ वर्ष गुलजार भएको पत्रिकाको बजार अहिले नमज्जाले सुस्ताएको छ। अहिले न्यूरोड चलायमान छैन। पत्रिका पढ्ने पाठक छैनन्। मै हुँ भन्ने पत्रिकाको विक्री संख्या उल्लेख लायकै छैन। लाजमर्दो अवस्था छ।
६ वर्षमै पहिलेको न्यूरोड र अहिलेको न्यूरोडमा धेरै परिवर्तन भइसक्यो।अहिले बिहान ७५/८० जना थोक विक्रेता आइपुग्छन्। हकर त मुस्किलले ५ जनाजति छन्। डबलीहरूमा पत्रिका टाँसिन्थ्यो। त्यहाँ लाइन लागेर पत्रिका पढ्थे। अहिले त पढ्ने नै देखिँदैनन्।
डेढ लाखसम्म पत्रिका बेचेको त्यो समय
लैनचौरको केशर पुस्तकालयमा बसेर पढिरहेको थिएँ। पीताम्बर बडू र नीरज पाण्डे दाइहरूले कान्तिपुर दैनिक पत्रिका निस्कँदै छ, बजार जाऊँ भन्नुभयो। त्यो बेलामा पत्रिकाको विक्रेता हुन्छु भन्ने त थिएन तर ललितपुरतिर बजार कस्तो रहेछ भनेर बुझियो।
कान्तिपुरले २०४९ साल फागुन ५ गते डमी पेपर भृकुटीमण्डपमा बाँडेको थियो। मैले त्यो हेरिसकेको थिएँ। केही राम्रै होला भनेर वितरणमा लागियो। अनि बजारबाट केही अर्डरहरू पनि आयो। १५ गतेबाट त मैले पत्रिका बिक्री वितरण सुरु गरिहालेँ।
कान्तिपुरले छोटो समयमा यसरी बजार लियो की १५ वर्षमा बजारका अनेक आयामहरूसँग साक्षात्कार गर्ने अवसर पाइयो। राती पत्रिका छापेको प्रतिले नपुगेर बिहान फेरि छापिन्थ्यो। ५० सालमा मदन भण्डारीको आकस्मिक मृत्यु भएपछि पत्रिका यसरी बिक्री भयो की २०७६ सालसम्म त्यसले उचाइ लिइरह्यो।
हामीले विक्रेताको हिसाबले कम्पनी दर्ता गरेर काम सुरु गर्यौँ। सुरुमा उपत्यकाका तीनै जिल्ला हेरिन्थ्यो। ११ सय जना त मेरा मातहतमा थिए।
त्यो बेलामा मिडिया हाउसले विक्रेतालाई पत्रिका मासिक ठेक्कामा दिन्थ्यो। मिडिया हाउसले हामीलाई ३० प्रतिशत कमिसन दिन्थे। २० प्रतिशत बजारमा जान्थ्यो, बाँकी हामीलाई। एउटा समस्या भने रहिरह्यो। मिडिया हाउसले तोकिएको कमिसनमा कहिलेकाहीँ सम्झौता गर्न खोज्थे। अनि छलफल गरेर एउटा बिन्दुमा पुग्नु पर्दथ्यो। त्यो बेलामा राम्रै अवस्था रहेकाले वितरक समेसम्म आफूले वितरणको जिम्मा पाएको पत्रिका अन्त नजाओस् भन्नेमा लाग्थे।
त्यो बेलामा काठमाडौँमा जति पत्रिका छापिन्थे ७० प्रतिशत बिक्री हुन्थे। बाँकी ३० प्रतिशत उपत्यका बाहिर जान्थे। सरकारी कार्यालयहरूले बोलपत्र आह्वान गर्थे। त्यही अनुसार जसलाई पर्यो उसैले त्यहाँ पत्रिका बेच्न पाउँथे। हकरहरूले कराएर पत्रिका बेच्थे। एक जनाले ५ सय प्रतिसम्म बेच्थे। थोरै बेच्नेले पनि १ सय प्रतिसम्म बेच्थे।
राजनीतिक घटनाक्रमले पनि पत्रिका बिक्रीमा फरक पर्थ्यो। २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भएपछिको भोलिपल्ट पत्रिका बेच्न पाइएन। बबरमहलमा पसल थियो मेरो। पत्रिका बेच्न नपाएपछि मैले बाटोभरि पत्रिका छरिदिएँ। कर्फ्यु लागेको समय भएकाले बाटोमा सेना थिए। सेनाले समात-समात भनेको थियो तर पछि समातेन।
दरबार हत्याकाण्डपछि कान्तिपुरमा तत्कालीन विद्रोही पक्षका नेता बाबुराम भट्टराईको लेख छापियो। लेख यति चल्यो की पत्रिकाले नपुगेर फोटोकपी समेत बिक्री भयो। एकजनाले त्यो लेखको ५ सय प्रति फोटोकपी बेच्नु भयो।
त्यतिबेला पाठक अनुसारका पत्रिका थिए। युवाहरूको लागि साप्ताहिक, महिला केन्द्रित पत्रिका, दैनिक, विश्लेषणात्मक समाचार आउने साप्ताहिक नेपाल, हिमाल र समय जस्ता म्यागेजिन थिए।
कान्तिपुरले निकालेको युवा लक्षित साप्ताहिकको उस्तै बजार थियो। त्यो साप्ताहिक ५० हजार प्रतिसम्म बेचेँ मैले। त्यस्तै शनिबारे विशेषाङ्क १ लाख ५० हजारसम्म बिक्री भएको रेकर्ड छ।
फरक काम गर्न सके पत्रिकाले चाँडै राम्रै बजार लिन्थ्यो। जस्तो की नागरिकको विशेष अंकहरू ५० हजारसम्म बिक्री भएका थिए। शुक्रवार साप्ताहिक पनि राम्रै विक्री हुन्थ्यो।
विजय कुमार पाण्डे नेपाल साप्ताहिकको सम्पादक भएको बेला ११ हजार प्रतिसम्म बिक्री भएर रेकर्ड कायम भएको थियो। उनले दरबार हत्याकाण्डको बेला राजा वीरेन्द्रका ज्वाँई गोरख शमशेरको अन्तरवार्ता लिएका थिए। त्यो अंक निकै बिक्यो।
बजारै अर्कै थियो त्यो बेला। ठाउँ अनुसार पनि कुन पत्रिका जान्छ, कुन जाँदैन थाहा हुन्थ्यो। गिरिजाप्रसाद कोइरालाको फोटो पहिलो पृष्ठमा छापिएको दिन काठमाडौंको बौद्ध क्षेत्रमा पत्रिका नै विक्री हुँदैनथ्यो। अघिपछि त्यहाँ हकरले राम्रै पत्रिका बेच्थे। तर गिरिजाप्रसादको तस्बिर आएको पत्रिका छ भने बौद्धमा हकरहरूले पत्रिका बेच्नै सक्दैनथे। सायद त्यो क्षेत्रमा कम्युनिष्टहरुको प्रभाव थियो होला।
नेपालमा भारतीय पत्रिकाको बिक्री पनि राम्रो थियो। टाइम्स अफ इन्डिया ३ हजार कपी आउँथ्यो। १३ सय कपी पन्जाब केशरी आउँथ्यो। त्यो ५/७ रूपैँयामा नै पाइन्थ्यो। तर अहिले भारतीय पत्रिका आउन छाडे। बेलायती पत्रिका द इकोनोमिस्ट मैले नै १ सयप्रति जति बेच्थेँ। उनीहरूले पछि मूल्य बढाएर हजार पुर्याए, ग्राहक घटे।
अहिले नेपाली पत्रिकाको विक्रीको अवस्था के भन्नु, निकै दयनीय छ। यसको कारण न पत्रिका महँगो भएर हो , न अनलाइन बढेर। मुख्य समस्या नै कन्टेन्ट नभएर हो। अनलाइनमा आइसकेका समाचार भोलिपल्ट पत्रिकामा छापेर कसरी पत्रिका बिक्री हुन्छ? पाठकले अघिल्लो दिनै थाहा पाइसकेका विषय फेरि भोलिपल्ट पैसा हालेर त्यही पढ्न किन किन्छन् पत्रिका?
सम्पादक फेरिदा बिक्रीमा असर
पत्रिकाको सम्पादक फेरिएपछि विक्रीमा पनि त्यसको असर पर्थ्यो। कोही आउँदा बढ्थ्यो, कोही आउँदा घट्थ्यो। पत्रकार अनुसार पाठकमा विश्वास थियो। उदाहरणका लागि, कान्तिपुरमा योगेश उपाध्याय सम्पादक भएपछि पत्रिका बिक्रीको ग्राफ उक्लँदै गयो। युवराज घिमिरे भएको बेलामा त शिखरमा नै पुग्यो।
अहिले त सम्पादकको प्रभाव पनि देखिन छाड्यो पत्रिका विक्रीमा। जो आए पनि, जो गए पनि पाठकले वास्तै गरेको देखिन्न। पत्रिकाको विक्रीमा कुनै असर पर्दैन
पहिले पाठकको तह अनुसार पत्रिका थिए। दैनिक, साप्ताहिक, युवाका लागि, वयस्कका लागि, प्रौढका लागि अनि पाकाका लागि फरक फरक पत्रिका थिए। तर अहिले कन्टेन्टमा विविधता पनि छैन। बजारमा मनोरञ्जनात्मक पत्रिकाको अझैँ बजार छ। म्यागेजिन खोज्ने पाठक छन्। तर कोरोनाको समयमा बन्द भएका पत्रिका प्रकाशितै भएनन्। पछि प्रकाशित भएका पनि बन्द भए।
विषयको आधारमा पहिले पनि राजनीतिक केन्द्रित नै थिए पत्रिकाहरू। अनि अहिले पनि राजनीतिक नै केन्द्रित छन्। पत्रिकामा सधैँ राजनीतिक समाचारै हाबी छ। आर्थिक, सामाजिक पक्षका समाचार पढ्न चाहने पाठकहरू धेरै छन्। तर त्यस्ता समाचार निकै कम आउँछन्। आए पनि भित्रतिर हुन्छ।
पहिला समाचारको भाषा र शुद्धाशुद्धीमा निकै ध्यान दिएको देखिन्थ्यो। अहिले त त्यो पनि छैन। अर्को अचम्म चैँ यति सङ्कट आउँदा पनि हाम्रा मिडिया सञ्चाकलकहरुले कारण बुझ्न चासै लिएको देखिँदैन। उनीहरूको व्यवहार देख्दा जति दिनसम्म चल्छ चलिरहोस् भन्ने सोच देखिन्छ। यसरी पत्रिकाको बजार उँभो लाग्दैन।
मिडियाले बहस चलाए हुन्थ्यो
पहिले अनुसन्धानमूलक र बहसयोग्य विचारहरू छापिन्थे। अहिले त न अनलाइनले न पत्रिकाले नै बहस गराउन सकेका छन्। मिडियाले इस्युमा बहस नगराएपछि समाज र राजनीति चलायमान नहुने रहेछ। चासै नहुने रहेछ। समाज र राजनीति चलायमान हुन मिडियाले बहस गराउनु पर्ने देखियो। तर खै सकेको देखिएन।
अर्को, मिडिया विज्ञापनमा मात्र केन्द्रित हुँदा कन्टेन्ट गुणस्तरीय भएन। कन्टेन्ट गुणस्तरीय नभएपछि पत्रिका विक्री मात्रै घटेन अहिले मिडियाप्रतिको विश्वसनीयता समेत घट्यो। माथि नै भने नि, पहिला त सम्पादक अनुसार पनि पत्रिकाको विक्री तलमाथि हुन्थ्यो। अहिले त को सम्पादक आए अनि को गए भन्नेसम्म पाठकले चासो राखेको देख्दिन म। यो त अति नै हो नि।
पहिले सम्पादक र प्रकाशकसँग कति पत्रिका बिक्री भयो, कुनै दिन बिकेन भने किन बिकेन भनेर छलफल हुन्थ्यो। अहिले प्रकाशकहरूलाई पत्रिका किन बिकेन भन्नेमा पहिले जस्तो चिन्ता नै देखिँदैन। पहिल्यै पत्रिका बिक्ने हैन भनेर बसेपछि कसरी सुधार हुन्छ र? किन विक्री भएन, हाम्रो कमजोरी के छ, अहिलेका पाठक के पढ्न चाहन्छन् भनेर रिसर्च गरेर त्यही अनुसार प्रयास गरे न सुधार हुने हो।
पत्रिका नबिक्नुको एक कारण डिजिटलाइजेसनले केही हदसम्म प्रभाव पारेको छ। तर सबै कारण यही हैन। पत्रिकाले कन्टेन्ट नबदल्नु मुख्य कारण हो। अनलाइनको संख्या बढेका छन्। तर अहिले पनि अनलाइनमा उस्तो समाचार पढ्ने पाठक छन् भन्ने लाग्दैन मलाई। यसले अझैँ प्रिन्टको भविष्य भने देखिन्छ।
उदाहरण, नेपालमा न्यूयोर्क टाइम्स सुरु भएदेखि हालसम्म बिक्री वितरणमा नेपाली पत्रिकाको बिक्रीमा आएको जस्तो परिवर्तन आएको छैन। पाठक संख्या एकनास छन्। उनीहरूको पत्रिकामा रिपोर्टिङ हुन्छ, हरेक दिन नयाँ विषय हुन्छ, विश्लेषण हुन्छ। अनि नयाँ कुरा हुन्छ। बारैपिच्छे उनीहरूले फरक स्टोरी गरेका हुन्छन्। तर हाम्रोमा त्यस्तो भएन। पत्रिकाको पाठकै घटेको भए त न्यूयोर्क टाइम्सको पाठक पनि घट्थे त।
अहिले पत्रिका नबिक्नुको कारण अनलाइन मिडिया बढेर हो भन्छन्। तर मेरो अनुभवमा यो सहायक कारण मात्र हो। मुख्य कारण समय बदलिए अनुसार, पाठकको रुचि बदलिए अनुसार पत्रिकाहरूले आफ्नो सामग्री बदल्न नसकेरै हो।
हिजो जस्तो फर्म्याटमा समाचार आउँथ्यो अहिले पनि त्यस्तै आउँछ। खाली फर्मल अनि बासी समाचारले पत्रिका भरिएका हुन्छन्। खोजमूलक समाचारै हुन्न। पत्रिकाको साजसज्जा बदलिन सकेको छैन। हिजो जस्तो छ अहिले पनि उस्तै छ। अनि कसरी बिक्छ?
आफू कुनै प्रयासै नगर्ने अनि पाठकले पत्रिका पढेनन्, अनलाइनले बजार बिगार्यो भनेर मात्र हुन्छ? एक पटक कसैले प्रयास गरेर हेरुन् त, अहिले पनि पत्रिकाको पाठक टन्नै छन्। तर समय अनुसार सामग्री बदल्न सक्नुपर्यो, बासी समाचार हैन, खोजमूलक अनि विश्लेषणात्मक सामग्री चाहियो। मिहेनत देखिनुपर्यो।
हिजो पाठकले पैसा तिरेर पत्रिका पढेकै हुन्। कन्टेन्ट सुधार्ने हो भने अहिले पनि पढ्छन्।
(‘कान्तिपुर दैनिकको १५ वर्ष वितरण सम्हालेका भण्डारी अहिले नागरिक दैनिक, न्यूयोर्क टाइम्स र रिपब्लिकाको वितरक हुन्। ३३ वर्ष वितरकको रूपमा काम गरेका भण्डारीसँग नेपाली पत्रिकाको हिजोका वितरण र आजको अवस्थाबारे उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला :
साउन १४, २०८२ बुधबार १९:१९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।