मधेस प्रदेशका पूर्वप्रमुख अहिराज बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा गए

काठमाडौं : बलात्कारको अभियोग लागेका मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बुधवार भएको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा पठाउने आदेश दिएको हो।
अहिराजबारे बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको इजलासमा धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे बहस भएको थियो। बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।
उनी विरुद्ध आफ्नो कोठामा आएर जवर्जस्ती ढोकामा चुकुल लगाएर बलात्कार गरेको दाबीसहित एक महिलाले जाहेरी दिएकी थिइन्। उनको जाहेरीको आधारमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गराएको थियो।
जाहेरी दर्ता भएको लामो समय फरार रहेका अहिराज साउन ४ गते पक्राउ परेका थिए। उनलाई केपी ओली नेतृत्वको सरकारले मधेस प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो।
साउन १४, २०८२ बुधबार १७:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।