शेखर कोइरालाले भने ‘कांग्रेस संसदीय दलको नेता बदलिँदैन, गठबन्धन २०८४ सम्मै'

शेखर कोइरालाले भने ‘कांग्रेस संसदीय दलको नेता बदलिँदैन, गठबन्धन २०८४ सम्मै'

मोरङ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्काल पार्टीको संसदीय दलको नेता बदलिने सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४सम्मै जाने दाबी समेत गरे।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका डा कोइरालाले पहिलो पटक पूर्वराष्ट्रपती विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटबारे समेत स्पष्टीकरण दिए।

उनले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएको तर्क गर्दै पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री प्रचण्डसँग आफ्नो छलफल भएको दाबी गरे।

उनले पूर्वराष्ट्रपतीसँग भेट भए पनि आफू नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताए पनि आफू राजनीतिमा नफर्केको राम्रो हुने पक्षमा रहेको बताए।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने भन्दै राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुने बताए।

गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने दाबी गरे।

साउन १४, २०८२ बुधबार १५:४०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।