लिची बगैँचाले रञ्जितालाई ल्याएको सङ्कट, पार्टीबाटै हटाइयो

काठमाडौं : पोखराको १३५ रोपनी जग्गाको घुस काण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पार्टीले अध्यक्ष पदबाट हटाएको छ। अध्यक्षले विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई अध्यक्ष पद पदबाट हटाएर त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको छ।
उनले कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीको रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनले समय भित्र स्पष्टीकरण नदिएपछि अध्यक्ष पदबाट हटाएको निर्णय गर्दै आयोगलाई जानकारी दिएको छ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र आयोगमा पठाएसँगै त्यसलाई अनुमोदन गर्न मध्यबानेश्वरमा राष्ट्रिय भेला राखिएको छ। भेलामा चौधरी उपस्थित छैनन्।
पार्टीमा रञ्जिता र उनको श्रीमान् तथा नाउपा संस्थापक रेशम चौधरीबिच पार्टी नेतृत्वबारे लामो समयदेखि विवाद जारी छ। महाधिवेशनबाट रेशम अध्यक्ष भएका थिए। तर निर्वाचन आयोगले मान्यता नदिएपछि रञ्जिता नै अध्यक्ष भएकी थिइन्। पोखराको लिची बगैँचाको विवाद सार्वजनिक भएसँगै उनी पार्टीमा सङ्कटमा परेकी थिइन्।
साउन १४, २०८२ बुधबार १५:३०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।