रास्वपाको संसदीय दलको बैठक भैरहवामा जारी

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ। सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि रास्वपा नेताहरु दलको बैठकमा बसेका हुन्।
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ। बैठकका लागि रास्वपा नेता र सांसदहरू मंगलबार नै भैरहवा पुगेका थिए।
बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको विषयमा छलफल हुनेछ।
यसका अलावा संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुने रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
परियारका अनुसार पार्टीका नेता र सांसदहरू आज-भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन्।
संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरू पनि सहभागी हुनेछन्। रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरूको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरूसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए।
रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
साउन १४, २०८२ बुधबार १४:१३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।