बारामा १० हजार पिस ट्रामाडोल क्याप्सुलसहित भारतीय नागरिक पक्राउ

सिम्रौनगढ : बारा प्रहरीले भारी मात्रामा प्रतिबन्धित लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा १० हजार ३८० पिस ट्रामाडोल क्याप्सुलसहित भारत बिहारका ५० वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिएको हो।
मंगलबार साँझ सिम्रौनगढ नगरपालिका-६ स्थित पावरहाउस चोकबाट पूर्वतर्फ बम नहरको बाटोमा प्रहरीले शंकास्पद एक मोटरसाइकललाई रोकेर जाँच गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो वीरगंजको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर०५बी के७०३५ नम्बरको होन्डा साइन मोटरसाइकललाई रोकेको थियो।
लेगार्डमा बोरामा बाँधेर ल्याइएको सामान शंका लागेर जाँच गर्दा प्रतिबन्धित लागू औषध ट्रामाडोल लेखिएको एक हजार ३८ पत्ता (कुल १० हजार ३८० क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, बिहार राज्यको पूर्वी चम्पारण, जितना थाना अन्तर्गत पर्ने कोडीगावा टोलका ५० वर्षीय मन्जन साह भन्ने उपेन्द्र साह रहेका छन्।
प्रहरीले लागू औषध र तस्करीमा प्रयोग भएको मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई लागू औषध ऐन अन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यस क्षेत्रमा भारतीय सीमाबाट हुने लागू औषध तस्करी नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ।
साउन १४, २०८२ बुधबार १२:४८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।