मध्यरातमा रसुवामा भीषण बाढी : स्याफ्रुबेसी-रसुवागढी सडक तहसनहस, मितेरी पुल पुनर्निर्माण फेरि अवरुद्ध

काठमाडौं : नेपाल-चीन सीमामा पर्ने रसुवागढीको ल्हेन्दे खोलामा मंगलबार राति फेरि आएको भीषण बाढीले स्याफ्रुबेसी-रसुवागढी सडक खण्डमा व्यापक क्षति पुऱ्याएको छ।
गत असार २४ गतेको बाढीले क्षतिग्रस्त भएर मर्मतपछि सञ्चालनमा आइसकेको सडक पुनः अवरुद्ध हुँदा नेपाल-चीन व्यापारिक मार्गसँगै स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ।
रसुवा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार मंगलबार रातिको बाढीले स्याफ्रुबेसीबाट रसुवागढी जाने सडकमा कम्तीमा १० ठाउँमा ठूलो क्षति पुगेको छ।
उनले उकेरासँग भने, ‘असार २४ गतेको बाढीले अवरुद्ध भएको सडक हामीले सञ्चालनमा ल्याएका थियौं, तर गए रातिको बाढीले पुनः आठदेखि दश ठाउँमा ठूलो क्षति पुऱ्याएपछि स्याफ्रुबेसी-रसुवागढी सडक पूर्ण रुपमा अवरुद्ध छ।’
मितेरी पुल पुनर्निर्माण कार्य फेरि अवरुद्ध
असार २४ गतेको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो। त्यसपछि चिनियाँ पक्षले भदौ ३० गतेभित्र सक्ने लक्ष्यका साथ अस्थायी बेलिब्रिज निर्माणको काम सुरू गरेको थियो। तर, मंगलबार रातिको बाढीले उक्त पुनर्निर्माण कार्य पनि अवरुद्ध भएको छ।
बाढीले त्रिशूली नदी कोरिडोरका जलविद्युत् आयोजनाहरूमा पनि गम्भीर क्षति पुऱ्याएको छ। बाढीले त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको सबस्टेसनमा क्षति पुगेको छ भने नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको ‘त्रिशूली-काठमाडौं प्रसारण लाइन’को स्टेसनमा पनि क्षति पुगेको छ।
असार २४ गतेको बाढीबाटै प्रभावित त्रिशुली थ्री ‘ए’ लगायत रसुवागढी (१११ मेगावाट) र चिलिमे (२२ मेगावाट) जलविद्युत् आयोजनामा पनि थप क्षति पुगेको छ। अघिल्लो बाढीबाट जलविद्युत् आयोजनाहरूमा भएको क्षतिको करिब २९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको थियो।
यसैगरी, रसुवा र नुवाकोटको सिमानामा अवस्थित पवित्र तीर्थस्थल उत्तरगया धाम पूर्ण रूपमा डुबानमा परेको छ। बाढीले उत्तरगया गाउँपालिकाको कार्यालय समेत जोखिममा पारेको छ।
बाढीले टिमुरेस्थित निर्माणाधीन भन्सार कार्यालयसम्म जाने सडक भासिएर भोटेकोशी नदीमा मिसिएको छ। टिमुरे भन्सार यार्डमा रहेको धर्मकाँटा (तौल गर्ने मेसिन) बगाएको छ भने निर्माणाधीन भन्सार यार्डमा समेत क्षति पुगेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए। सोही क्षेत्रमा रहेको सेनाको अस्थायी ब्यारेक पनि जोखिममा परेको छ।
पालिकालाई पूर्व जानकारी
असार २४ गते आएको बाढीले ठूलो मानवीय क्षति भएपछि यसपटक जिल्ला प्रशासन कार्यालयले बाढी आएको थाहा हुनेबत्तिकै तल्लो तटीय क्षेत्रमा जानकारी गराएर सतर्कता अपनाउन भनेको थियो।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले आफूलाई राति नै प्रमुख जिल्ला अधिकारीले बाढीको पूर्वसूचना दिएको जानकारी गराएका छन्।
उनले राति २ बजेर ४१ मिनेटमा एउटा सामाजिक सञ्जाल पोस्ट गर्दै भनेका थिए, ‘नेपाल र चीनको सिमाना रसुवागढी क्षेत्रबाट ठूलो बाढी आउँदै गरेको जानकारी प्राप्त भएकोछ। तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दाहरू सचेत रहनुपर्ने भएको छ।’
यसका अलावा उनले विहानैदेखि त्यस क्षेत्रमा भएको भौतिक क्षतिबारे पनि जानकारी दिइरहेका छन्। जिल्ला प्रशासन कार्यालय रसुवाले नुवाकोट प्रशासन र धादिङ प्रशासनसँग पनि समन्वय गरेर काम गरिरहेको जनाएको छ।
साउन १४, २०८२ बुधबार ११:२१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।