रुसमा भूकम्पपछि जापानमा सुनामी, फुकुशिमा न्युक्लियर प्लान्ट खाली गराइयो

रुसमा भूकम्पपछि जापानमा सुनामी, फुकुशिमा न्युक्लियर प्लान्ट खाली गराइयो

एजेन्सी : रुसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको उत्तरी क्षेत्रमा सुनामीले धक्का दिएको छ।

सुनामीको चेतावनीसँगै जापानी अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन् भने संवेदनशील मानिने फुकुशीमा आणविक प्लान्टका कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड मापन गरेको छ। यसअघि यसको तीव्रता ८.० र पछि ८.७ बताइए पनि अन्तिममा त्यसलाई परिमार्जन गरिएको थियो।

भूकम्पको केन्द्रविन्दु रुसको पूर्वी तटमा भए पनि यसको असर छिमेकी जापानको तटीय क्षेत्रमा देखिएको हो।

जापानको स्थानीय प्रसारक एनएचकेका अनुसार, सुनामीका छालहरू होक्काइदो प्रान्तको उत्तरी तटीय क्षेत्रमा पुगेका छन्।

होक्काइदोको नेमुरो बन्दरगाहमा करिब १२ इन्च (एक फिट) अग्ला छालहरू देखिएको रिपोर्ट गरिएको छ। यद्यपि, जापानी अधिकारीहरूले छालहरू अझै अग्लो हुन सक्ने चेतावनी जारी गरेका थिए।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अधिकारीहरूले परिस्थितिको गम्भीरतापूर्वक मूल्याङ्कन गरिरहेको र कुनै पनि राहत कार्यमा ‘मानिसको जीवनलाई प्राथमिकता दिइने’ बताएका छन्।

उनले नागरिकहरूलाई तटीय क्षेत्रबाट टाढा रहन र तत्काल अग्लो स्थानमा जान आग्रह गरेका छन्। हालसम्म कुनै पनि मानवीय क्षतिको पुष्टि भएको छैन, तर सतर्कता उच्च तहमा राखिएको छ।

यसैबीच, सुनामीको चेतावनीलाई ध्यानमा राख्दै टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइची र फुकुशिमा दैनी आणविक प्लान्टका कामदारहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर उच्च स्थानहरूमा सारेको छ।

सन् २०११ मा गएको विनाशकारी भूकम्प र सुनामीपछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो, जसकारण यसपटक विशेष सावधानी अपनाइएको हो।

टेप्कोले हालसम्म प्लान्टमा कुनै क्षति नभएको र अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

यो घटनाक्रम यसै हप्ता टेप्कोले गरेको अर्को एक महत्वपूर्ण घोषणापछि आएको हो, जसमा विकिरणको स्तर घटाउन थप समय चाहिने भन्दै प्लान्टबाट इन्धनको फोहोर हटाउने कार्य १२ देखि १५ वर्ष ढिलाइ हुन सक्ने बताइएको थियो।

साउन १४, २०८२ बुधबार १०:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।