जन्मदर बढाउन चीनको नयाँ कदम, हरेक बच्चाका लागि वार्षिक १५ सय डलर अनुदान

एजेन्सी : आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित चिनियाँ सरकारले जन्मदर बढाउन एक महत्वाकांक्षी नगद प्रोत्साहन योजना घोषणा गरेको छ।
यो नयाँ राष्ट्रिय योजना अन्तर्गत, सरकारले तीन वर्षभन्दा कम उमेरका प्रत्येक बच्चाका लागि अभिभावकलाई प्रति वर्ष ३ हजार ६०० युआन अर्थात १५ सय अमेरिकी डलर प्रदान गर्नेछ।
यो योजनाले एक परिवारलाई अधिकतम तीन बच्चासम्मका लागि सहयोग गर्नेछ, जसअनुसार उनीहरूले वार्षिक १० हजार ८०० युआनसम्म प्राप्त गर्न सक्नेछन्।
सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार यो नीति यसै वर्षको सुरुवातदेखि नै लागू हुनेछ र यसले करिब दुई करोड परिवारलाई बालबालिका हुर्काउन आर्थिक मद्दत पुग्नेछ।
जनसांख्यिकीय संकटको पृष्ठभूमि
चीनले करिब एक दशकअघि आफ्नो विवादास्पद ‘एक बच्चा नीति’ अन्त्य गरे पनि देशको जन्मदर निरन्तर घटिरहेको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन अहिले सम्भावित जनसांख्यिकीय संकटको सामना गरिरहेको छ। जनवरीमा सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, २०२४ मा चीनको जनसंख्या लगातार तेस्रो वर्ष पनि घटेको छ।
सन् २०२३ मा पछिल्लो छ दशकमा पहिलो पटक चीनको जनसंख्या घटेको थियो, जसले विश्वभरि नै चर्चा पाएको थियो। चीनको १.४ अर्ब जनसंख्या तीव्र गतिमा घट्दैछ, जसले सरकारको चिन्ता थप बढाएको छ।
स्थानीय सरकारका प्रयासहरू
राष्ट्रिय योजना आउनुअघि नै चीनका विभिन्न प्रान्तहरूले मानिसहरूलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्न आफ्नै पाइलट योजनाहरू सुरू गरिसकेका थिए।
उत्तरी चीनको होहोट शहरले तीन वा सोभन्दा बढी बच्चा भएका दम्पतीलाई प्रति बच्चा एक लाख युआनसम्मको सहायता दिँदै आएको छ। यसका अलावा शेनयाङ शहरमा तेस्रो बच्चा तीन वर्षको नहुन्जेलसम्म परिवारलाई प्रति महिना पाँच सय युआन दिइन्छ।
साथै राजधानी बेइजिङले पनि स्थानीय सरकारहरूलाई निःशुल्क पूर्व-शिक्षा लागू गर्ने योजना बनाउन आग्रह गरेको छ।
किन घट्दैछ जन्मदर?
चीनको युवा जनसंख्या अनुसन्धान संस्थानको एक अध्ययनअनुसार, बालबालिका हुर्काउन चीन विश्वकै महंगो देशहरूमध्ये पर्छ। अध्ययनले देखाएअनुसार, चीनमा १७ वर्षको उमेरसम्म एक बच्चा हुर्काउने औसत लागत करिब ७५ हजार सात सय अमेरिकी डलर अर्थात लगभग १ करोड नेपाली रुपैयाँ छ।
यसका अलावा महिलाहरूको बदलिँदो प्राथमिकता पनि चीनमा जन्मदर घट्नुको अर्को कारण हो।
चीनमा धेरैजसो महिलाहरू कि त एउटा मात्र बच्चा चाहन्छन्, कि त बच्चा नै जन्माउन चाहँदैनन्। चीन जनसंख्या तथा विकास अनुसन्धान केन्द्रका अनुसार, सन् २०१५ मा निःसन्तान महिलाको संख्या ६ प्रतिशत थियो भने जुन २०२० मा यो संख्या बढेर १० प्रतिशत पुगेको छ।
साथै करिअर र परिवारबीचको सन्तुलनलाई पनि अर्को मुख्य कारणको रूपमा हेरिएको छ। बीबीसीसँग कुरा गरेका चिनियाँ महिलाहरूले बच्चा जन्माउँदा आफ्नो करिअरमा नकारात्मक असर पर्ने डर रहेको बताए।
उनीहरूका अनुसार, जागिरको अन्तर्वार्तामा ‘के तपाईं बच्चा जन्माउने योजनामा हुनुहुन्छ?’ भनेर सोधिन्छ र ‘हो’ भनेर जवाफ दिँदा जागिर नपाउने सम्भावना बढ्छ।
मिशिगन विश्वविद्यालयकी समाजशास्त्रकी सहायक प्राध्यापक डा. युन झोउ भन्छिन्, ‘उच्च शिक्षित चिनियाँ महिलाहरूका लागि काम आत्म-प्राप्ति जस्तै हो। चीनमा जागिरमा हुने लैङ्गिक भेदभावका कारण उनीहरूका लागि बच्चा र करिअरमध्ये एक रोज्नु निकै गाह्रो निर्णय हो।’
सरकारले ल्याएको यो आर्थिक सहायताले महँगी र सामाजिक दबाब झेलिरहेका चिनियाँ परिवारलाई कति हदसम्म आकर्षित गर्छ, त्यो भने हेर्न बाँकी छ।
साउन १४, २०८२ बुधबार १०:२०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।