भैरहवा कारागारमा रहेका सभापति भेट्न रास्वपा सांसदहरू रुपन्देहीमा

भैरहवा कारागारमा रहेका सभापति भेट्न रास्वपा सांसदहरू रुपन्देहीमा

बुटवल : सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न पार्टीका सांसद तथा नेताहरू रुपन्देही आएका छन्। उनीहरूले आज पार्टी सभापति लामिछानेलाई भेट्दैछन्।

मंगलबार साँझ पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा सहितका सांसदहरू रुपन्देही आएका हुन्। सभापति लामिछानेलाई भेट गरेपछि आज दिउँसो रुपन्देहीमै रास्वपा संसदीय दलको बैठक बस्नेछ।

संसदीय दलको बैठकमा रास्वपाले संसदमा उठाउँदै आएको भिजिट भिषा प्रकरण, संसदमा सत्तापक्षले पेलेर गएको विषयका साथै कार्तिक १७ गते हुन लागेको रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ।

रास्वपाले अहिले उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन माग गरेको र आवेदन दिने समय सकिएपछि मात्र उम्मेदवारका विषयमा छलफल र छनोट गर्नेछ।

रास्वपा जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरू पनि सहभागी हुने बताए।

साउन १४, २०८२ बुधबार ०९:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।