अमेरिकी गायिकासँग क्यानडाका पूर्वप्रधानमन्त्रीको डिनर डेट

एजेन्सी : अमेरिकी चर्चित गायिका केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडो हालै सँगै डिनरमा देखिएका छन्। उनीहरूको भेट सोमबार राति मोन्ट्रियलको ‘ले वायलोन’ रेस्टुरेन्टमा भएको टीएमजेडको रिपोर्टमा उल्लेख छ।
भाइरल भएको एक भिडियोमा केटी पेरी र ट्रुडो एउटै टेबलमा आमनेसामने बसेर कुराकानी गरिरहेको देखिन्छ। हाल केटी पेरी आफ्नो क्यानडा भ्रमणमा छिन्, जहाँ उनको ओटावा र मोन्ट्रियलमा सांगितिक प्रस्तुति रहेको छ।
यो भेटघाट यस्तो समयमा भएको हो, जब केही हप्ताअघि मात्र केटी पेरीको आफ्ना पूर्व पार्टनर ओर्लान्डो ब्लूमसँगको नौ वर्ष पुरानो सम्बन्ध टुटेको थियो।
कडा सुरक्षाबीच डिनर
यो डिनर एक निजी डेट जस्तो देखिए पनि उनीहरू एक्लै थिएनन्। उनीहरूसँगै कैयौँ सुरक्षा गार्ड पनि उपस्थित थिए, जसले उनीहरूको गतिविधिमाथि नजर राखिरहेका थिए। सुरक्षाकर्मीहरू नजिकैको सिटमा बसेर सिसाको पर्खालबाट निगरानी गरिरहेका थिए।
रिपोर्टका अनुसार, पेरी र ट्रुडोले रेस्टुरेन्टमा लबस्टरसहित विभिन्न परिकार खाएका थिए, तर दुवैले कुनै मादक पेय पदार्थ लिएनन्। डिनरपछि रेस्टुरेन्टका शेफले उनीहरूलाई शुभकामना दिए। पेरी र ट्रुडोले भान्सामा गएर त्यहाँका कर्मचारीहरूलाई व्यक्तिगत रूपमा धन्यवाद पनि दिएका थिए।
केटी पेरी र ओर्लान्डो ब्लूमको ब्रेकअप
यसै महिनाको सुरुवातमा केटी पेरी र हलिउड अभिनेता ओर्लान्डो ब्लूमले आफ्नो ब्रेकअपको आधिकारिक घोषणा गरेका थिए। एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अब आफ्नो ध्यान चार वर्षीया छोरी डेजी डभको पालनपोषणमा केन्द्रित गर्न चाहेको बताएका थिए।
विज्ञप्तिमा भनिएको थियो, ‘ओर्लान्डो र केटीले पछिल्ला केही महिनादेखि आफ्नो सम्बन्धलाई सह-अभिभावकत्वको दिशामा अगाडि बढाइरहेका छन्, ताकि उनीहरूको छोरीले राम्रो भविष्य पाउन सकून्।’
साउन १४, २०८२ बुधबार ०८:४७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।