रुसको पूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; अमेरिका, जापान र रुसमा सुनामीको चेतावनी

एजेन्सी : अमेरिकी भूगर्भ सर्वेक्षणले मंगलबार रुसको पूर्वी तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको छ।
भूकम्पपछि प्रशान्त महासागरका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ, जसले रुस, जापान र अमेरिकाको अलास्कासम्मका क्षेत्रमा जोखिम बढाएको छ।
सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु कामचट्का प्रायद्वीपको पेट्रोपाभ्लोभस्क शहरबाट करिब १३६ किलोमिटर पूर्वमा, समुन्द्रमुनि १९ किलोमिटर गहिराइमा रहेको थियो।
स्थानीय गभर्नरले यस भूकम्पलाई पछिल्ला दशकहरूमा महसुस गरिएको सबैभन्दा शक्तिशाली कम्पनको रूपमा वर्णन गरेका छन्। भूकम्प निकै शक्तिशाली भए पनि हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
भूकम्प लगत्तै अमेरिकी भूगर्भ विभागले आगामी तीन घण्टाभित्र खतरनाक सुनामीका छालहरू रुस र जापानको तटमा पुग्न सक्ने चेतावनी दिएको छ।
यसैगरी, अमेरिकी अधिकारीहरूले अलास्का लगायतका आफ्ना प्रशान्त तटीय क्षेत्रहरूमा पनि सुनामीको चेतावनी जारी गरेका छन्।
जापानको मौसम विज्ञान एजेन्सीले पनि आफ्नो प्रशान्त तटीय क्षेत्रमा ३.३ फिट (करिब १ मिटर) सम्मको सुनामी आउन सक्ने चेतावनी दिँदै तटीय बासिन्दालाई सतर्क गराएको छ।
सुरुमा भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरिएको थियो, तर विस्तृत विश्लेषणपछि सर्वेक्षणले त्यसलाई ८.७ म्याग्निच्युडमा परिमार्जन गरेको थियो।
यसैबीच, सर्वेक्षणले जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र स्थानीय अधिकारीहरूले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
साउन १४, २०८२ बुधबार ०८:१५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।