रसुवागढीबाट बाढीको खतरा : त्रिशुली नदीको जलस्तर बढ्यो, उत्तरगया डुबानमा

नुवाकोट : चीनसँगको सिमाना रसुवागढी क्षेत्रबाट ठूलो बाढी आउने सूचनापछि रसुवाको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले मध्यरातमा सामाजिक सञ्जालमार्फत आपतकालीन सूचना जारी गर्दै स्थानीय बासिन्दालाई सुरक्षित रहन अपिल गरेका छन्। सूचनासँगै त्रिशुली नदीको जलस्तर उल्लेख्य रूपमा बढेको छ।
अध्यक्ष अर्यालले राति २ बजेर ४१ मिनेटमा फेसबुकमा प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचनालाई उद्धृत गर्दै लेखेका थिए, ‘नेपाल र चीनको सिमाना रसुवागढी क्षेत्रबाट ठूलो बाढी आउँदै गरेको जानकारी प्राप्त भएकोछ। तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दाहरू सचेत रहनुपर्ने भएको छ।’
उनले जिल्ला विपद् व्यवस्थापन समिति, रसुवा र उत्तरगया गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन टोलीहरूलाई परिचालन गरिसकिएको जानकारी दिँदै गाउँपालिका र प्रहरी प्रशासनबाट जारी हुने सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेका थिए।
त्यसपछिको अवस्थाबारे जानकारी दिँदै अध्यक्ष अर्यालले बिहान ५ बजेतिर गाउँपालिका कार्यालय आसपास त्रिशुली नदीको बहाव बढेको बताएका थिए। पुनः बिहान साढे ७ बजे उनले बहाव बढेको त्रिशुली नदीका केही तस्बिरहरू पनि सार्वजनिक गरेका छन्। सार्वजनिक तस्बिरहरूमा त्रिशुली नदीको किनारमा रहेको उत्तरगया धाम डुबानमा परेको देखिन्छ।
रातिदेखि आएको बाढीले उत्तरगया गाउँपालिकाको कार्यालय समेत जोखिममा परेको छ भने त्रिशुली नदी किनारमा भएको सबस्टेशनमा समेत क्षति पुगेको छ।
अध्यक्ष अर्यालको निरन्तरको सूचना प्रवाहले स्थानीय बासिन्दालाई समयमै सचेत गराउन मद्दत पुगेको छ। अहिले पनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा नजान आग्रह गरिएको छ। स्थानीय प्रशासन र विपद् व्यवस्थापन टोलीहरू सम्भावित क्षतिको न्यूनीकरण र उद्धारका लागि तयारी अवस्थामा रहेका छन्।
साउन १४, २०८२ बुधबार ०८:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।