पहलगाम आक्रमणमा संलग्न तीन 'आतङ्ककारी' मारिएको भारतको दाबी, एक नेपालीसहित २६ मारिएका थिए

पहलगाम आक्रमणमा संलग्न तीन 'आतङ्ककारी' मारिएको भारतको दाबी, एक नेपालीसहित २६ मारिएका थिए

एजेन्सी : भारतले अप्रिलमा भारतीय प्रशासित कश्मीरमा पर्यटकीय शहर नजिक २६ जना सर्वसाधारणको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न तीन जनालाई भारतीय सुरक्षाकर्मीले मारेको दाबी गरेको छ।

भारतका गृहमन्त्री अमित शाहले संसदमा जानकारी दिँदै ती आतङ्ककारीहरू सोमबार श्रीनगर नजिकैको क्षेत्रमा भारतीय सुरक्षा बलको कारबाहीमा मारिएको दाबी गरे। उनले मारिएका तीनै जना पाकिस्तानी नागरिक भएको र उनीहरूको परिचय फरेन्सिक र बलिस्टिक परीक्षणमार्फत पुष्टि भएको दाबी समेत गरे।

तर पाकिस्तानले उक्त दाबीमा कुनै टिप्पणी गरेको छैन। ती आरोप पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ।

सबैभन्दा घातक आक्रमण

अप्रिल २२ मा पहलगाम नजिकको एक रमणीय घाँसे मैदानमा भएको आक्रमणमा २६ जनाको हत्या भएको थियो। मारिएका मध्ये एक नेपालीसहित अधिकांश हिन्दु तीर्थयात्री थिए। आक्रमणकारीहरूले परिवारका सदस्यहरूकै अगाडि उनीहरूलाई गोली हानी हत्या गरेका थिए।

घटनापछि भारतले पाकिस्तानले उक्त आक्रमणमा संलग्न आतङ्ककारी समूहहरूलाई समर्थन गरेको आरोप लगाउँदै मे महिनामा पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरका केही स्थानहरूमा हवाई कारबाहीसमेत गरेको थियो।

त्यसको जवाफमा पाकिस्तानले ड्रोन, मिसाइल र लडाकु विमान प्रयोग गरेर प्रतिकार गरेपछि दुई देशबीच चार दिनसम्म भीषण सैन्य द्वन्द्व भएको थियो। दशकौँपछि भएको यो सबैभन्दा रक्तपातपूर्ण झडप थियो। अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएको थियो।

'अपरेसन महादेव' मा मारिए तीनै जना : शाह

भारतीय गृहमन्त्री अमित शाहले मंगलबार संसद्को तल्लो सदनमा सम्बोधन गर्दै, "तीनै जना आतङ्ककारीलाई ‘अपरेसन महादेव’ अन्तर्गत समाप्त गरिएको" दाबी गरे।

भारतीय सेनाका अनुसार ती आतङ्ककारीहरूसँग दाछिगामको वन्यजन्तु आरक्षित क्षेत्रमा भिडन्त भएको थियो, जुन श्रीनगरबाट करिब ३० किलोमिटर टाढा पर्छ। भिडन्तमा ती तीनै जनाको मृत्यु भएको बताइए पनि सेनाले उनीहरूको पहिचान सुरुमा खुलाएको थिएन।

तर मंगलबार शाहले मारिएका तीनै जनालाई सुलेमान शाह, अफगान र जिब्रान को नाम दिएका छन् र तीनै जना पाकिस्तानी भएको बताए।

पहिचान र अनुसन्धानको प्रक्रिया

मे महिनामा अनुसन्धान थालिएपछि भारतीय प्रहरीले तीन जना शंकास्पद आक्रमणकारीको स्केच सार्वजनिक गरेको थियो। त्यसमध्ये दुई पाकिस्तानी र एक स्थानीय भएको भनिएको थियो।

तर जुन महिनामा दुई स्थानीयलाई पक्राउ गरेपछि अनुसन्धानकर्ताहरूले तीनै जना पाकिस्तानी नागरिक भएको दाबी गरे। उनीहरू संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको आतङ्ककारी संगठन लश्कर-ए-तोइबा का सदस्य रहेको बताइएको थियो।

शाहले भने कि सुलेमान शाह र अफगान मात्र एलइटी का सदस्य भएको विश्वास गरिएको छ। जिब्रान कुन समूहसँग आबद्ध थियो भन्ने स्पष्ट नभएको बताए।

शाहले उनीहरूलाई आश्रय दिने स्थानीयहरूले उनीहरूको पहिचान पुष्टि गरेको दाबी गरे। “हामीसँग दुई जनाको भोटर आइडी नम्बर छ, हतियार बरामद भएका छन्, र उनीहरूसँग फेला परेका चकलेटहरू समेत पाकिस्तानमै बनेका हुन्,” शाहले संसदमा भने।

साउन १३, २०८२ मंगलबार २२:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।