बागलुङका ‘मौरीबाजे’ जसले १० हजारबाट सुरू गरेको मौरीपालनलाई करोडको उद्योग बनाए

बागलुङ : ६० काटेका डिलबहादुर केसी अहिले मौरीसँगै दिन बिताउँछन्। बागलुङ नगरपालिका-१२ अमलाचौरका केसी ‘मौरीबाजे’ भनेर चिनिन्छन्। उनले २०५६ सालमा जम्मा १० हजार रुपैयाँ लगानी गरेर सुरु गरेको मौरीपालन व्यवसाय अहिले करोडको उद्योगमा रूपान्तरण भइसकेको छ।
उनले स्थापना गरेको बलेवा मौरीपालन उद्योग अहिले वार्षिक ६५ लाख आम्दानी गर्ने अवस्थामा पुगेको छ। सुरुमा २ वटा मौरीको घारबाट थालिएको काम अहिले ३५० घारसम्म पुगेको छ। त्यसैमा मात्रै होइन, उद्योगले वार्षिक २ हजार ५०० वटा मौरीका घार देशभर बिक्री गरिरहेको छ।
डिलबहादुरका दुई छोराहरू-जगत र जनकले व्यवसायलाई प्रविधिसँग जोडेर झनै व्यवस्थित बनाएका छन्।'अब म स्याहारमै सीमित छु, छोरा र ६ जना कामदार मिलेर आधुनिक घार बनाउँदैछन्,' केसीले भने, 'अहिले चितवनबाट मात्रै ४०० घारको माग आएको छ, धमाधम काम भइरहेको छ।'
उद्योगमा अहिले युरोपबाट ल्याइएको काठ काट्ने मेसिन जडान भइसकेको छ, जसको मूल्य १० लाख परेको छ। आधुनिक प्रविधियुक्त उपकरणले घार निर्माण, रंगरोगनदेखि प्याकिङसमेत सजिलो बनाएको छ।
केसीले दुई वर्षअघि भारतको सिक्कमसम्म २३६ वटा मौरीका घार निर्यात गरिसकेका छन्। अहिले पनि देशका विभिन्न जिल्लामा अनुदानमार्फत वितरण हुने घार यही उद्योगबाट उत्पादन हुन्छ।
घार दुई प्रकारका हुन्छन्-गोलासहितको (मौरीसहित) र गोलारहित (खाली घार)। मौरीसहितको एक घारको मूल्य रु १० हजार पर्छ भने खाली घार रु ४-५ हजारमा बिक्री हुने गरेको छ।
उद्योगबाट वार्षिक तीन क्विन्टलसम्म मह उत्पादन हुन्छ। उत्पादन गरिएको मह प्रतिकिलो रु १ हजारमा बिक्री हुन्छ। 'अघिल्लो आर्थिक वर्षमा मह र घार बिक्री गरेर ६५ लाख आम्दानी भयो, २५ लाख जति नाफा रह्यो,' केसीले बताए।
उद्योग चलाउन टुनीको काठ खरिद, बत्तीको महसुल, तलब लगायतमा लाखौं खर्च हुने भए पनि उनले ३०-४० प्रतिशत आम्दानी बचाउन सकिने बताए।
'घार बनाउने सीप, स्रोत र माग सब छ, तर कागजी प्रक्रिया र बजारीकरणको झन्झट छ,' केसीले गुनासो पोखे। टुनीको काठबाट बनेका घारको माग बढ्दो छ। 'यदि स्थानीय सरकारले साथ दियो भने उद्योगले सयौँलाई रोजगारी दिन सक्छ,' उनले भने।
बागलुङ नगरपालिकाले बलेवा मौरीपालन उद्योगलाई रु १८ लाख अनुदानसमेत दिएको छ।
साउन १३, २०८२ मंगलबार २१:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।