हायु परिवार भन्छ- केटाकेटीहरू बिरामी परे, अस्पताल र स्कुल धेरै टाढा भएपछि गाउँ छाड्न बाध्य भयौँ

हायु परिवार भन्छ- केटाकेटीहरू बिरामी परे, अस्पताल र स्कुल धेरै टाढा भएपछि गाउँ छाड्न बाध्य भयौँ

काठमाडौं : सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा फेला परेका हायु परिवारले बाध्यताले गाउँ छाड्नुपरेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने समस्या भएका कारण साना बच्चाहरूको उपचार र भविष्यका लागि गाउँ छाडेको बताए।

उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरू धेरै बिरामी परे। राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने सोच भयो। हामी १८ जनाको ठूलो परिवार, अस्पताल जान दुई-अढाइ घण्टा लाग्छ, स्कुल जान तीन घण्टा। हामी त्यस्तो ऋण लागेर भागेर आएका होइनौं।’ 

उनले सञ्चारमाध्यममा आएको जस्तो राति नभई बिहान घरबाट हिँडेको र गाइ पनि नपालेको प्रष्ट पारे।

यस सम्बन्धमा कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवारलाई आफन्तको जिम्मा लगाइएको र उनीहरू सपरिवार आफैँखुसी हिँडेको जानकारी दिए। घटनाबारे आवश्यक परे थप अनुसन्धान गरिने पनि उनले बताए।

सिन्धुलीको गोलञ्जोरबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला पारी मंगलबार आफन्तको जिम्मा लगाइसकेको छ।

पोखरा महानगरपालिका-३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

प्रहरीका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए। तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा बसेका थिए।

साउन १३, २०८२ मंगलबार १९:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।